युवा व्यवसायी प्रिन्स युवराज कार्की ले सामाजिक सञ्जालमा लेखेको स्टाटस यतिबेला चर्चामा आएको छ, जसमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सचिवहरूलाई दिएको कडा निर्देशनबारे उल्लेख गरिएको छ।
स्टाटस अनुसार, प्रधानमन्त्री बालेनले मन्त्रीहरूले दिएका निर्देशनलाई कानुन, प्रक्रिया वा विधि–विधानको बहाना देखाएर ढिला नगर्न स्पष्ट चेतावनी दिएका छन्। उनले “काम किन हुँदैन” भन्ने तर्कभन्दा “कसरी हुन्छ” भन्ने समाधान खोज्न सचिवहरूलाई निर्देशन दिएका छन्।
त्यस्तै, मन्त्रीहरूको भावना नबुझ्ने र काममा अवरोध गर्ने प्रवृत्ति देखिएमा सम्बन्धित कर्मचारीलाई मार्गप्रशस्त गर्नसमेत संकेत गरिएको बताइएको छ। प्रधानमन्त्रीको यो सन्देश प्रशासनिक कामकारबाहीलाई परिणाममुखी, छिटो र प्रभावकारी बनाउने उद्देश्यसहित आएको बुझिएको छ।
उक्त विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समर्थन र बहस दुवै देखिएको छ। कतिपयले यसलाई ‘डेलिभरी-ओरिएन्टेड लिडरशिप’ भन्दै प्रशंसा गरेका छन् भने केहीले विधि–विधानभन्दा माथि गएर काम गर्दा दीर्घकालीन असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
युवा व्यवसायी कार्कीको यो स्टाटस अहिले विभिन्न मिडिया र जनचासोको केन्द्रमा परेको छ।