जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता
काठमाडौं, साउन ९ — कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरु (H.E. Mr. Maeda Toru) बीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल–जापानबीच कृषि सहकार्य विस्तार, कृषि क्षेत्रमा जापानी लगानी, प्रविधि हस्तान्तरण तथा अनुसन्धानलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो।
भेटमा मन्त्री चौधरीले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–जापानबीच कायम रहेको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै यस वर्ष मनाइँदै आएको ७०औँ वर्षगाँठले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताउनुभयो। उहाँले गत फेब्रुअरीमा सम्माननीय राष्ट्रपतिको जापान भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो।
मन्त्री चौधरीले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै कृषि क्षेत्र, विशेषगरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासमा प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। गण्डकी प्रदेशमा सञ्चालित Gandaki SHEP परियोजना तथा कोशी प्रदेशको बीउबिजन सुधार प्राविधिक सहयोग परियोजनाले कृषि प्रणालीमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले जापान सरकार र जाइका (JICA) प्रति धन्यवाद व्यक्त गर्नुभयो।
भेटका क्रममा मन्त्री चौधरीले नेपालमा व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण, आधुनिक दुग्ध प्रशोधन प्लान्ट स्थापना, तरकारी तथा विभिन्न बालीका बीउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनका क्षेत्रमा जापानी लगानी र प्रविधिको आवश्यकता औँल्याउँदै यसमा सहयोगका लागि राजदूत मायदा तोरुको विशेष पहलको अपेक्षा गर्नुभयो।
त्यसैगरी कृषि अनुसन्धान, कृषि अध्ययनरत युवाका लागि Learn and Earn कार्यक्रम सञ्चालन, धान खेतीमा यान्त्रीकीकरण तथा Precision Farming जस्ता आधुनिक कृषि प्रविधिमा नेपाल–जापानबीच सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री चौधरीले जापानमा तीन लाखभन्दा बढी नेपालीको उपस्थितिले दुई देशबीचको जनस्तरीय सम्बन्ध अझ मजबुत बनेको उल्लेख गर्दै राजदूत मायदा तोरुको कार्यकालमा नेपाल–जापानबीच आर्थिक सहकार्य, व्यापार, लगानी तथा कृषि साझेदारी थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।