सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा असर पर्न दिँदैनौं : शिक्षामन्त्री सस्मित पोखरेल

theoutsidenepal.com

सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा असर पर्न दिँदैनौं : शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौं, साउन १५ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट वञ्चित नहुने स्पष्ट पार्नुभएको छ।

शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रभावित विद्यार्थीहरूको पठनपाठनमा अवरोध नहोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार बालाजुस्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको छ।

त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौं महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था गरिएको मन्त्री पोखरेलले बताउनुभयो।

उहाँका अनुसार खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेका विद्यालयमा भर्ना गराइएको छ। उनीहरूका लागि विद्यालय आवतजावतको सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल, सरसफाइका सामग्री तथा खेलकुद सामग्रीसमेत उपलब्ध गराइएको छ।

मन्त्री पोखरेलले गत असार २९ गते खरिपाटी र बोडे होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित बालबालिकाको शिक्षा र आवश्यक सुविधाका लागि थप व्यवस्था गर्न निर्देशन दिएको जानकारी पनि दिनुभयो।

अर्को प्रश्नको जवाफमा उहाँले विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा हुने मनोनयन प्रणालीलाई सुशासन, पारदर्शिता र योग्यता प्रणालीलाई सुदृढ बनाउन पुनःव्यवस्थित गरिएको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार हाल नौवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन् भने त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहित अन्य उच्च पदाधिकारी पनि नियुक्त भएका छन्। बाँकी रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढिसकेको उहाँले जानकारी दिनुभयो।

उच्च शिक्षाको गुणस्तर सुधारका लागि सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको पनि मन्त्री पोखरेलले बताउनुभयो।

राष्ट्रियसभामा सांसदद्वय मदनकुमारी शाह (गरिमा) र भुवनबहादुर सुनारले शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए।


प्रतिक्रिया