काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने स्वास्थ्य उपचारपछि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। सामान्य चोटबाट सुरु भएको संक्रमणका कारण केही दिन अस्पतालमा बिताएर विश्रामपछि उनले देशव्यापी राजनीतिक सक्रियता पुनः सुरु गर्ने घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो स्टाटसमा लामिछानेले अब देशमा घट्ने हरेक घटनाले इतिहास निर्माण गर्ने दाबी गर्दै परिवर्तनको नेतृत्व नेपाली जनताले आफ्नै मतपत्रमार्फत गर्ने बताएका छन्। उनले आफू सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न राजनीति गरेको स्पष्ट पारेका छन्।
लामिछानेले अपदस्त दुईतिहाइ सरकारले जबरजस्ती थोपरिएको ‘विष’ देशभरका अदालत धाउँदै पखालिरहेको उल्लेख गर्दै अबको यात्रा प्रत्यक्ष जनसंवाद केन्द्रित हुने बताएका छन्। “एकाध पुल, भवन र सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो रुचि छैन,” भन्दै उनले सिंहदरबारलाई कुशासनको मुख्यालयको रूपमा चित्रण गरेका छन्।
उनले स्पष्ट जनम्यान्डेट बिना जित–हारको कुनै अर्थ नहुने उल्लेख गर्दै निलो क्रान्ति सिंहदरबारबाटै सुरु हुनुपर्ने धारणा राखेका छन्। वर्षौंअघिदेखि रोपिएको अस्थिरताको बीउ अब जरोसहित उखेल्नुपर्ने समय आएको उनको भनाइ छ।
रास्वपा र आफ्नो नेतृत्वलाई लिएर उठाइने लोकप्रियतावाद र भिजनको आरोपप्रति कटाक्ष गर्दै लामिछानेले पार्टीका दस्तावेज पढ्न आलोचकहरू अनिच्छुक रहेको आरोप लगाएका छन्। “विचार, सिद्धान्त र नीति भएको दाबी गर्नेहरूको नियत र क्षमता देखिसक्यौं,” भन्दै उनले अब देशलाई थप भारी शब्द र भाषणले होइन, सुशासनले चाहिएको बताए।
उनले देश केही बिचौलियाको नियन्त्रणमा परेको आरोप लगाउँदै मतपत्रमार्फत सुशासनको घण्टी बजाउने आह्वान गरेका छन्। साथै, विकास, कूटनीति र अर्थ–राजनीतिमा नयाँ युग सुरु गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
लामिछानेले फागुन २१ लाई नेपाली इतिहासको निर्णायक मिति बताउँदै त्यसपछि आउने संसद नयाँ हुनुपर्ने बताएका छन्। “सर्प एउटा पनि पाल्न सकिँदैन,” भन्दै उनले पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि प्रयास स्वीकार नहुने चेतावनी दिएका छन्।
देशलाई “गिद्धले सिनो लुछेजस्तै लुछिएको” अवस्थामा पुगेको उल्लेख गर्दै उनले सबै शक्ति प्रयोग गरेर पनि जनआन्दोलनको सुनामी रोक्न चुनौती दिएका छन्। अन्ततः देशको भविष्य लेख्ने जिम्मा जनताकै हातमा रहेको भन्दै उनले मताधिकार प्रयोग गर्न अपिल गरेका छन्।