इराकस्थित नेपाली श्रमिकको श्रम समस्या समाधानका लागि एनआरएनएको पहल

theoutsidenepal.com

गैर आवासीय नेपाली संघ (NRNA) अन्तर्गत NRNA ICC र NRNA Iraq ले इराकमा कार्यरत नेपाली श्रमिकहरूको श्रम स्वीकृति सम्बन्धी समस्या समाधान गर्न पहल थालेका छन्।


नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/०९/११ को निर्णयअनुसार इराकमा रेसिडेन्सी कार्ड तथा वैधानिक भिसा भएका नेपाली कामदारलाई नेपाल फर्किंदा श्रम स्वीकृतिमा जोड्ने व्यवस्था गरिएको भए पनि व्यवहारमा विभिन्न जटिलता देखिएको श्रमिकहरूको गुनासो छ। सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभाग पुगेका श्रमिकहरू समेत श्रम लिनबाट वञ्चित भएको बताइएको छ।


यसै सन्दर्भमा संस्थाका सचिव पूर्णहाङ लिम्बू र सदस्य इन्द्रबहादुर श्रेष्ठले आज गैर आवासीय नेपाली संघ (NRNA) केन्द्रीय कार्यालय, बालुवाटारमा अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसँग भेटवार्ता गर्नुभएको हो।


भेटमा इराकमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति प्रक्रियालाई स्पष्ट र सहज बनाउन छुट्टै श्रम निर्देशिका निर्माण गर्नुपर्ने माग राखिएको छ। सम्बन्धित निकायसँग समन्वय गरी व्यवहारिक समाधान निकाल्न एनआरएनएले सक्रिय पहल गर्ने सहमति भएको स्रोतले जनाएको छ।


इराकस्थित हजारौँ नेपाली श्रमिक प्रत्यक्ष प्रभावित भएको यस विषयमा चाँडो समाधान नआए समस्या झन् जटिल बन्ने चिन्ता व्यक्त गरिएको छ।


प्रतिक्रिया