गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ

theoutsidenepal.com

काठमाडौं । माननीय गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित विशेष समारोहबीच “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ भएको छ । “प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा” विषयक दुई दिवसीय सम्मेलनको गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।


उद्घाटन समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा शोध अनुसन्धान गरी तयार गरिएका तीन महत्वपूर्ण अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभयो । ती प्रतिवेदनहरूमा नेपालमा सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबीचको अन्तरसम्बन्ध, नेपाल प्रहरीको पोशाक प्रयोग तथा परिमार्जन र ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह तथा आचरणसम्बन्धी अध्ययन समावेश छन् ।


समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रहरी सेवाका नीति निर्माण तथा जनअपेक्षा अनुरूपको सेवा प्रवाहका विषयमा नागरिक समाज, सुरक्षा विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो । प्रहरी संगठनलाई अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउन सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै सम्मेलनबाट प्राप्त निष्कर्ष कार्यान्वयनमा गृहमन्त्रालय र नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो ।


गृहसचिव राजकुमार श्रेष्ठले विद्यमान अवस्थामा साइबर अपराध र आर्थिक अपराध जटिल बन्दै गएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । सम्मेलनले नेपाल प्रहरीको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धिमा योगदान पुर्‍याउने उहाँको विश्वास थियो ।


प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संविधान, प्रहरी ऐन र कानुन अनुरूप शान्ति सुरक्षा कायम राख्दै मानव अधिकारको संरक्षणसहित व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताउनुभयो । प्रविधिको तीव्र विकास, डिजिटल जोखिम, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नवीन दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै सम्मेलनले दीर्घकालीन रणनीति निर्माणमा महत्वपूर्ण मार्गदर्शन गर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा सम्मेलन संयोजन तथा व्यवस्थापन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्यसहित सम्मेलनको उद्देश्य र कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा उच्च प्रहरी अधिकृत, विभिन्न क्षेत्रका विज्ञ, बैंक तथा सञ्चार क्षेत्रका प्रतिनिधि लगायत आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।


सम्मेलनको मुख्य उद्देश्य नेपाल प्रहरीको दीर्घकालीन रणनीति निर्माण, संगठनात्मक सुधार, नागरिक सहभागिता विस्तार, आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको समग्र मूल्याङ्कन तथा सेवा प्रवाह सुधारका उपाय पहिचान गर्नु रहेको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा प्रहरी संचालन र समन्वय, सुरक्षा चुनौती, अपराध प्रवृत्ति, मानवस्रोत व्यवस्थापन, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापन, नागरिक–प्रहरी सम्बन्ध तथा सडक सुरक्षा लगायतका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया