काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबार उद्घाटन हुँदै

theoutsidenepal.com

काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सोमबार (भोलि) औपचारिक रूपमा उद्घाटन हुने भएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो राष्ट्रिय गौरवको आयोजना शिलान्यास भएको सात वर्षपछि सञ्चालनमा आउन लागेको हो। 


सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको निर्माण कार्य कोभिड–१९ महामारी, जग्गा मुआब्जा विवाद तथा अन्य प्राविधिक कारणले ढिलाइ भएको थियो। मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ भने आपतकालीन उद्धार सुरुङ २.५५७ किलोमिटर लामो छ।


उद्घाटनपछि सुरुङ मार्ग चरणबद्ध रूपमा सञ्चालनमा ल्याइनेछ। पहिलो दिन आपतकालीन सेवाका सवारीसाधनलाई मात्र अनुमति दिइनेछ भने त्यसपछि निजी तथा सार्वजनिक सवारीसाधनलाई क्रमशः सञ्चालन गर्न दिइने योजना छ। पैदलयात्री, मोटरसाइकल तथा पेट्रोलियमजस्ता ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई भने सुरुङ प्रयोग गर्न अनुमति दिइने छैन।


सुरुङ मार्ग सञ्चालनसँगै काठमाडौं–नागढुंगा–धादिङ खण्डको यात्रा समय उल्लेखनीय रूपमा घट्ने, ट्राफिक जाम कम हुने तथा राजधानीको पश्चिमी नाका हुँदै हुने आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया