अमेरिकी सेनाले सुनिल थापाको मृत्युबारे दियो नयाँ जानकारी, तालिम दुर्घटना नभएको स्पष्ट
काठमाडौं । टेक्सासमा ज्यान गुमाएका अमेरिकी सेनाका २५ वर्षीय सर्जेन्ट सुनिल थापाको मृत्युबारे अमेरिकी सेनाले यसअघि सार्वजनिक भएका विवरणभन्दा फरक जानकारी दिएको छ।
अमेरिकी सेनाको ग्यारिसन फोर्ट हुडस्थित फर्स्ट क्याभलरी डिभिजनका प्रवक्ताले नेपाली सञ्चारमाध्यम खसोखाससँग कुरा गर्दै थापाको मृत्यु ब्यारेक र सैन्य बेस बाहिर भएको तथा कुनै सैन्य तालिम दुर्घटनासँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्।
यसअघि विभिन्न नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पारिवारिक स्रोतलाई उद्धृत गर्दै टेक्सासमा सैन्य प्रशिक्षणका क्रममा टाउकोमा गोली लागेर थापाको मृत्यु भएको दाबी गरिएको थियो। केही सञ्चारमाध्यमले तालिमकै क्रममा अर्को सैनिकले चलाएको गोली दुर्घटनावश लाग्दा उनको ज्यान गएको समाचार प्रकाशित गरेका थिए।
तर फर्स्ट क्याभलरी डिभिजनका प्रवक्ताले ती दाबीहरूको खण्डन गर्दै भने, “सर्जेन्ट सुनिल थापा फोर्ट हुड, टेक्सासस्थित थर्ड क्याभलरी रेजिमेन्टमा कार्यरत एक इन्फेन्ट्रीमेन थिए। उनको निधन ब्यारेक र बेस बाहिर भएको हो। यो कुनै तालिम दुर्घटनासँग सम्बन्धित छैन।”
प्रवक्ताका अनुसार घटना सैन्य बेस बाहिर भएकाले यसको विस्तृत परिस्थिति तथा अनुसन्धानबारे जानकारीका लागि किलीन, टेक्सास प्रहरी र अमेरिकी सेनाको आपराधिक अनुसन्धान विभाग (CID) सँग सम्पर्क गर्नुपर्ने हुन्छ।
समाचार तयार पार्दासम्म किलीन प्रहरी वा सेनाको आपराधिक अनुसन्धान विभागले घटनाबारे थप विवरण सार्वजनिक गरेका छैनन्।
फर्स्ट क्याभलरी डिभिजनले सर्जेन्ट थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन घडीमा उनका परिवार, साथीभाइ र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ।