परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

theoutsidenepal.com

परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

काठमाडौं । हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका काठमाडौंको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई एक विशेष समारोहबीच सम्मान गरिएको छ ।

शनिबार परिवर्तन अभियान नेपाल ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित अर्जुननरसिंह केसी ले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताए । उनले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य–मान्यताको पनि उत्तिकै महत्त्व हुनेमा जोड दिए । नेता केसीले विद्यार्थीहरूलाई जीवनको नयाँ चरणमा सही निर्णय लिन तथा आफ्नो रुचिअनुसार विषय छनोट गर्न सुझाव दिएका थिए ।


त्यसैगरी खुश्बु ओली ले सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आत्मनिर्भर बन्न प्रेरित गरिन् । उनले आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको अनुभव सुनाउँदै पढाइसँगै सीप र काम गर्ने बानी बसाल्न आग्रह गरिन् । साथै, अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अरूसँग तुलना नगर्न र उनीहरूको रुचिअनुसार अध्ययन गर्न दिन सुझाव दिइन् । उनले नेपालमै भविष्य खोज्न सकिने वातावरण निर्माणका लागि आफूहरूले नीतिगत तहमा काम गरिरहेको समेत बताइन् ।

कार्यक्रममा केपी खनाल ले आफ्नो सामाजिक यात्राको अनुभव साझा गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न आग्रह गरे । उनले विदेश पलायनको प्रवृत्तिभन्दा नेपालमै बसेर परिवर्तन ल्याउने सोच विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै निष्कल राई ले विद्यार्थीहरूलाई राजनीतिक तथा सामाजिक रूपमा सचेत रहँदै देश विकासमा योगदान दिन प्रेरित गरे ।

सुशील भट्ट ले संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने घोषणा गरे । उनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सबुज बाँनिया ले नेपालको शैक्षिक सुधारमा राज्यले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल ले नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत विद्यालयको नतिजामा सुधार आउनु खुसीको विषय भएको बताइन् । उनले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा पृथ्वी नारायण माध्यमिक विद्यालय का प्रधानाध्यापक नारायण काप्री, हिसान तारकेश्वर अध्यक्ष धन पुन लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले विद्यार्थीहरूलाई भविष्यका लागि शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रमसँगै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । विशेष गरी ‘श्री महाँकाल माई बाँसुरी खलक’ को सुमधुर बाँसुरी वादन र छात्राहरूको आकर्षक नृत्यले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।

कार्यक्रममा ४.० जीपीए ल्याउने विद्यार्थीहरूसहित सबै उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो ।


प्रतिक्रिया