द टन न्युज ॥ विशेष रिपोर्ट
काठमाडौँ, १२ असोज । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी डा. मेराज आलम अन्सारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि (मुस्लिमतर्फ) आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका छन्।
स्वास्थ्य क्षेत्रसँग लामो समयदेखि जोडिएर चिकित्सकीय सेवा तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका डा. अन्सारीले आफ्नो व्यावसायिक अनुभव र जिम्मेवारीलाई पार्टीको नीति, योजना तथा निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
आफ्नो उम्मेदवारीबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. अन्सारीले स्वास्थ्य क्षेत्रसँग जोडिएको आफ्नो अनुभवलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्रस्तुत गर्ने उद्देश्यका साथ आफू अघि बढेको उल्लेख गरेका छन्।
निसर्ग हस्पिटलका मेडिकल डाक्टर तथा मेडिकल डाइरेक्टरका रूपमा स्वास्थ्य सेवामा सक्रिय डा. अन्सारीलाई नेपाली कांग्रेसभित्र युवामाझ सक्रिय नेताका रूपमा समेत चिनिन्छ। चिकित्सकीय पेशासँगै सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका उनले जनताको स्वास्थ्य, सामाजिक न्याय, अवसरको समानता तथा समावेशी सहभागिताका विषयलाई राजनीतिक बहसको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै डा. अन्सारीले पार्टीका प्रतिनिधि तथा शुभेच्छुकहरूबाट साथ, शुभेच्छा र रचनात्मक सुझावको अपेक्षा गरेका छन्।
उनको उम्मेदवारीले स्वास्थ्य क्षेत्रबाट आएका युवा पुस्ताका प्रतिनिधित्वलाई कांग्रेसको नीति तथा निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा स्थापित गर्ने प्रयासका रूपमा चर्चा पाएको छ।
डा. अन्सारीले आफ्नो उम्मेदवारीसँगै पार्टीको संगठनलाई थप सुदृढ, जनमुखी र समावेशी बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“यहाँहरूको साथ, शुभेच्छा र सुझावको अपेक्षा गर्दछु। जय नेपाल ” भन्दै उनले महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।