काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारी ले पार्टीभित्र देखिएको संकटको समयमा नेतृत्वले देखाएको लचकता र जिम्मेवार भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्। उनले विशेष रूपमा सभापति शेरबहादुर देउवा को भूमिकालाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।
डा. अन्सारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै, पार्टीलाई एकताबद्ध राख्न संकटको घडीमा देखाइएको लचकता र संवादमुखी दृष्टिकोणले श्रद्धेय नेतृत्वप्रति आफ्नो सम्मान झन् बढेको उल्लेख गरेका छन्। उनले “हाम्रो नेतृत्व, हाम्रो गौरव” भन्दै वर्तमान नेतृत्वको निर्णय क्षमतालाई सराहना गरेका छन्।
उनका अनुसार पार्टीभित्र जारी विशेष महाधिवेशनको नेतृत्व गगन थापा नेतृत्वको टिमले गरिरहेको सन्दर्भमा, सो विषयलाई आत्मसाथ गर्दै देउवा पक्षले देखाएको लचकता सकारात्मक संकेत हो। यसले पार्टीभित्र सहमति र समझदारीको वातावरण सिर्जना गरेको उनको भनाइ छ।
डा. अन्सारीले अबको बाटो स्पष्ट रहेको बताउँदै, देउवा र गगन पक्ष मिलेर अघि बढ्नु नै कांग्रेसका लागि ऐतिहासिक कदम हुने धारणा व्यक्त गरेका छन्। उनले आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई आगामी राजनीतिक चुनौतीका लागि एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
उनको यो अभिव्यक्तिलाई नेपाली कांग्रेसभित्र चलिरहेको आन्तरिक विवाद समाधानका सन्दर्भमा युवा पुस्ताबाट आएको सकारात्मक सन्देश का रूपमा हेरिएको छ।