नुवाकोटको विद्युत् सेवा सुधारमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको विशेष चासो, समस्या तत्काल समाधान गर्न निर्देशन
काठमाडौं, ९ साउन। नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले नुवाकोट जिल्लाको विद्युत् आपूर्ति, पूर्वाधार तथा सेवा प्रवाहको अवस्थाबारे विस्तृत जानकारी लिँदै देखिएका समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ।
आज नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले जिल्लामा विद्युत् वितरण प्रणाली, पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिनुभएको थियो।
छलफलका क्रममा उहाँले जिल्लावासीबाट पटक–पटक विद्युत् अवरुद्ध हुने (झ्यापझ्याप जाने) गुनासो आउने गरेको उल्लेख गर्दै यस समस्यालाई उच्च प्राथमिकतामा राखी समाधान गर्न निर्देशन दिनुभयो। नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि आवश्यक प्राविधिक सुधार तथा व्यवस्थापन तत्काल अघि बढाउन उहाँले आग्रह गर्नुभयो।
मन्त्री तिमिल्सिनाले आवश्यक स्थानमा ट्रान्सफर्मर, विद्युत् पोल, तार तथा अन्य पूर्वाधारको उपलब्धता सुनिश्चित गर्न, जिल्लाको वास्तविक आवश्यकता मूल्याङ्कन गरी विद्युत् सञ्जाल विस्तार गर्न तथा पहिरो वा प्राकृतिक विपद्का कारण ढलेका पोल तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालन गर्न निर्देशन दिनुभयो। जोखिमपूर्ण अवस्थामा रहेका झुन्डिएका तथा अव्यवस्थित विद्युत् तारको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाउन उहाँले जोड दिनुभयो।
नेपाल टेलिकमका केही टावरमा विद्युत् नपुग्दा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको विषयमा समेत चासो व्यक्त गर्दै उहाँले दूरसञ्चार सेवा प्रभावकारी बनाउन आवश्यक स्थानमा विद्युत् विस्तार गरी नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गर्नुभयो।
मन्त्री तिमिल्सिनाले विद्युत् सेवा केवल बत्ती बाल्ने विषय नभई शिक्षा, स्वास्थ्य, सञ्चार, डिजिटल सेवा, व्यापार तथा दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएको आधारभूत सेवा भएकाले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण बनाउन प्राधिकरण सक्रिय हुनुपर्ने बताउनुभयो।
नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणले जिल्लामा ठूलो प्रकृतिको विद्युत् समस्या नरहेको जानकारी दिँदै केही स्थानमा रहेका पुराना नाङ्गा तारलाई क्रमशः इन्सुलेटेड (कालो) तारले प्रतिस्थापन गरिने बताउनुभयो। आवश्यक बजेटको अभाव नरहेको उल्लेख गर्दै उहाँले नागरिकका गुनासा आएका स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँका अनुसार हाल एकल फेज र तीन फेज विद्युत् जडानका अधिकांश सेवा एउटै दिनमै उपलब्ध गराइँदै आएको छ भने उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक टाइम अफ डे (TOD) मिटर अधिकतम दुई दिनभित्र जडान गर्ने व्यवस्था गरिएको छ।
छलफलमा नुवाकोटमा विद्युत् पूर्वाधार सुदृढीकरण, सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान, जोखिमयुक्त संरचनाको व्यवस्थापन तथा दूरसञ्चार सेवाका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको थियो।