निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा ‘सेतोपाटी अनलाइन’ विरुद्ध कारबाहीको प्रक्रिया अघि बढ्यो

theoutsidenepal.com

काठमाडौं — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गरेको ठहर गर्दै ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग पत्राचार गरेको छ।


आयोगका अनुसार ‘सेतोपाटी’मा प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका समाचारप्रति आपत्ति जनाउँदै आवश्यक कारबाहीका लागि काउन्सिललाई अनुरोध गरिएको हो।


आयोगले पठाएको पत्रमा अनलाइनमार्फत गरिएको उक्त प्रकाशन निर्वाचन आचारसंहिता, २०८२ विपरीत रहेको उल्लेख छ। पत्रमा आचारसंहिताको दफा ४ को खण्ड (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामसम्बन्धी मत सर्वेक्षण गर्न, त्यसको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने व्यवस्था रहेको स्मरण गराइएको छ। त्यस्तै, दफा २५ को उपदफा (१) को खण्ड (ख) ले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था गरेको आयोगको भनाइ छ।


आयोगको पत्रमा उल्लिखित समाचार सामग्रीले उक्त व्यवस्थाको प्रतिकूल अवस्था सिर्जना गरेको देखिएकाले ‘सेतोपाटी अनलाइन’ विरुद्ध आवश्यक कारबाहीका लागि निर्णयअनुसार प्रेस काउन्सिल नेपालसँग अनुरोध गरिएको जनाइएको छ।


उक्त समाचारमा चितवन–३ निर्वाचन क्षेत्रका सन्दर्भमा उम्मेदवार सोविता गौतम र रेणु दाहालको मत परिणामबारे पूर्वानुमान प्रस्तुत गरिएको तथा अर्का समाचारमा बालेन शाहका अभिव्यक्तिमाथि टिप्पणी गरिएको थियो।


प्रतिक्रिया