‘ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन’ : मिस नेपाल २०२६ दीपमाला ढकाल

theoutsidenepal.com

‘ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन’ : मिस नेपाल २०२६ दीपमाला ढकाल

काठमाडौं — मिस नेपाल २०२६ दीपमाला ढकालले आर्थिक संकट, ऋणको बोझ र वित्तीय दबाबमा परेका युवाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आर्थिक समस्याको समाधान जीवन अन्त्य नभई सहयोग, अवसर र सही नीतिमार्फत खोजिनुपर्ने बताएकी छन्।


नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको भेटपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले “ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै हुँदैन। ऋणको समाधान खोज्न सकिन्छ; एउटा जीवनको विकल्प खोज्न सकिँदैन” भन्ने भावनात्मक सन्देश दिएकी हुन्।

पूर्व BlackRock Investment Strategist समेत रहेकी ढकालले गभर्नर पौडेलसँगको भेटलाई आफूका लागि अत्यन्त प्रेरणादायी अनुभव भएको बताएकी छन्। भेटका क्रममा आर्थिक संकटको मानवीय प्रभाव तथा ऋण र वित्तीय दबाबका कारण विशेषगरी युवाहरूले भोग्नुपर्ने मानसिक तथा सामाजिक चुनौतीबारे महत्वपूर्ण छलफल भएको उनले उल्लेख गरेकी छन्।


ढकालका अनुसार आर्थिक कठिनाइ केवल वित्तीय विषय मात्र होइन, यसले व्यक्तिको भविष्य, आत्मविश्वास र जीवनमै गहिरो प्रभाव पार्न सक्छ। त्यसैले वित्तीय साक्षरता, सहज वित्तीय सहयोग, रोजगारी तथा आर्थिक अवसर र मानवीय संवेदनासहितको नीति निर्माण आजको आवश्यकता भएको उनको भनाइ छ।

मिस नेपालका रूपमा आफ्नो आवाजलाई सामाजिक हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ढकालले यस्तो नेपाल निर्माणमा योगदान पुर्‍याउने चाहना व्यक्त गरेकी छन्, जहाँ आर्थिक कठिनाइमा परेका मानिसले निराशाको सट्टा समाधान, सहयोग र नयाँ अवसर पाउन सकून्।


उनले विशेषगरी कुनै पनि युवाले आफ्नो वर्तमान आर्थिक अवस्थालाई आफ्नो भविष्यभन्दा ठूलो ठान्नुपर्ने अवस्था आउन नदिन समाज, वित्तीय संस्था, नीति निर्माता र राज्यका संयन्त्रहरू थप संवेदनशील हुनुपर्ने सन्देश दिएकी छन्।

ढकालले आफ्नो सार्वजनिक भूमिकालाई सौन्दर्य प्रतियोगिताको उपाधिमा सीमित नराखी वित्तीय सचेतना, युवा सशक्तीकरण र सामाजिक उत्तरदायित्वका विषयमा आवाज उठाउने अभियानसँग जोड्ने संकेत गरेकी छन्।

उक्त भेटमा FINYE Hong Kong की अध्यक्ष सोयेना ढकाल तथा The Official Miss Nepal Hong Kong International का National Director MNees Llimboo को समेत उपस्थिति रहेको थियो।

मिस नेपाल २०२६ को उपाधिपछि दीपमाला ढकालले आर्थिक तथा सामाजिक विषयमा सार्वजनिक रूपमा राखेको यो धारणा युवापुस्तामाझ वित्तीय सचेतना विस्तार गर्ने महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

उनको सन्देशको मूल भाव स्पष्ट छ—आर्थिक संकट कठिन हुन सक्छ, ऋणको बोझ भारी हुन सक्छ, तर कुनै पनि आर्थिक समस्या जीवनभन्दा ठूलो हुँदैन। समाधान खोज्ने बाटो सधैं बाँकी रहन्छ।


प्रतिक्रिया