कैलाली, क्षेत्र नम्बर ५ — मध्यपूर्वमा देखिएको युद्ध र तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै कैलाली–५ का उम्मेदवार प्रेम बहादुर आले ले नेपाली जनतालाई सजग, चनाखो र विवेकपूर्ण निर्णय लिन आह्वान गरेका छन्।
आफ्नो सार्वजनिक सन्देशमा उनले युद्ध कुनै पनि देशका जनताको चाहना नभएको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूको स्वार्थका कारण निर्दोष जनता पीडित बन्नु परेको बताएका छन्। “युद्धको चाहना र पक्षमा नभएका देशहरूमा जबर्जस्ती मिसाइल र गोलाबारुदको धुवाँ देखिनु दुःखद छ,” उनले भने, “ती देशमा लाखौं नेपाली श्रमिक र व्यवसायीहरू जोखिममा परेका छन्, जसका परिवारहरू नेपालमा छट्पटाएर बस्न बाध्य छन्।”
आलेले नेपालमा पनि बाह्य शक्तिहरू विभिन्न आवरणमा प्रभाव जमाउन खोजिरहेको संकेत गर्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता जोगाउन अब जनताले सचेत निर्णय गर्नुपर्ने बेला आएको बताए। “मध्यपूर्वी देशहरू पनि युद्ध चाहँदैनथे, तर शक्तिको स्वार्थ भित्रिएपछि विवश हुनुपर्यो,” उनले उल्लेख गरे।
आगामी फागुन २१ गते हुने मतदानलाई निर्णायक क्षणको रूपमा चित्रण गर्दै उनले विदेशी एजेन्डा परास्त गर्न र राष्ट्रिय स्वाभिमान जोगाउन नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हमा मतदान गर्न विशेष आग्रह गरेका छन्। उनका अनुसार नेपाली जनताको सुझबुझ र एकताले अहिलेसम्म देशलाई युद्धको विभिषिकाबाट जोगाएको छ र अब पनि त्यही सजगता आवश्यक छ।
“हामीले सजगता, धैर्य र विवेकका साथ निर्णय गर्ने बेला आएको छ,” आलेले भने, “नेपालको भूमिमा कहिल्यै गोलाबारुदको धुवाँ देख्न नपरोस् भन्ने मेरो प्रार्थना छ।”
कैलाली–५ मा चुनावी माहोल तातिँदै जाँदा आलेको यो अभिव्यक्तिलाई राष्ट्रियता र स्वाधीनताको मुद्दा जोडेर गरिएको प्रभावशाली अपिलका रूपमा हेरिएको छ। समर्थकहरूले उनको सन्देशलाई राष्ट्रहित केन्द्रित र समयसापेक्ष भनिरहेका छन्।