राष्ट्रिय स्वतन्त्र पार्टी ले सुर्खेतबाट चुनावी ‘वाचापत्र’ सार्वजनिक, मध्यम वर्ग विस्तार र ७% आर्थिक वृद्धिको लक्ष्य

theoutsidenepal.com

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा पार्टीले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने दीर्घकालीन लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

https://drive.google.com/file/d/1-5Nfv8uk_Af_5qQN57zSuRJ3ObTnsIjV/view?usp=drivesdk

वाचापत्रमा रास्वपाले मध्यम वर्गको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ। गरिबी घटाउँदै उत्पादनशील अर्थतन्त्र निर्माण गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवालाई सीप तथा उद्यमशीलतासँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


पार्टीले वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने तथा सात वर्षभित्र एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ। करको बोझ घटाउँदै निजी क्षेत्रसँग सहकार्यमार्फत लगानीमैत्री वातावरण बनाउने नीति पनि वाचापत्रमा समेटिएको छ।


स्वास्थ्य क्षेत्रमा प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने, सरकारी अस्पताल सुदृढीकरण गर्ने तथा नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने योजना प्रस्तुत गरिएको छ।


त्यसैगरी, दलमुक्त राज्य संयन्त्र, प्रशासनिक सुधारमा “लाइन होइन, अनलाइन” अवधारणा, न्याय क्षेत्रमा मेटिरोक्रेसी (योग्यताको आधारमा नियुक्ति र पदोन्नति) लागू गर्ने विषयलाई पनि प्रमुख एजेण्डाका रूपमा राखिएको छ।


रास्वपाले वाचापत्रमार्फत पारदर्शी शासन, सुशासन र आर्थिक समृद्धिलाई आफ्नो मूल प्रतिवद्धता रहेको जनाएको छ। आगामी निर्वाचनमा मतदाताबाट सकारात्मक समर्थन प्राप्त हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।


प्रतिक्रिया