४२ ग्यास स्टेसन र ६ होटलका मालिक बने चितवनका बुद्धिसागर सुवेदी
काठमाडौं । चितवनका बुद्धिसागर सुवेदी अमेरिकामा सफल नेपाली व्यवसायीका रूपमा स्थापित भएका छन्। सन् २००३ मा डाइभर्सिटी भिसा (डीभी) मार्फत अमेरिका पुगेका सुवेदीले आज ४२ वटा ग्यास स्टेसन, ६ वटा होटल तथा रियल–इस्टेट क्षेत्रमा ठूलो लगानी विस्तार गर्न सफल भएका छन्।
अमेरिका पुगेपछि उनले सुरुआती दिनमा ग्यास स्टेसनमै काम गरेका थिए। त्यसपछि कन्भिनेन्स स्टोर सञ्चालन गर्दै व्यवसायिक अनुभव र पूँजी संकलन गरेका उनले सन् २००८ मा आफ्नो पहिलो ग्यास स्टेसन सञ्चालनमा ल्याएका थिए। त्यसयता व्यवसायलाई निरन्तर विस्तार गर्दै उनले अहिले ठूलो व्यवसायिक सञ्जाल निर्माण गरेका छन्।
सुवेदीका विभिन्न व्यवसायमा हाल करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। रियल–इस्टेट क्षेत्रमा पनि उनी सक्रिय छन्। उनले हालसम्म पाँच सयभन्दा बढी घर बिक्री गरिसकेका छन् भने अमेरिकाको विस्कन्सिन राज्यमा ‘माडीकोट’ नामक आवासीय बस्ती विकास परियोजना सञ्चालन गरिरहेका छन्।
नेपालप्रति पनि उनको लगाव उत्तिकै रहेको छ। नेपाल र अमेरिकाका नेपाली व्यवसायीहरूको संयुक्त लगानीमार्फत भैरहवामा निर्माण भइरहेको पाँचतारे होटलमा समेत उनले लगानी गरेका छन्।
आफ्नो सफलताको आधार इमानदारी, कडा मेहनत र अवसरको सही सदुपयोग रहेको सुवेदी बताउँछन्। नेपालमा पनि लगानी विस्तार गर्ने इच्छा रहेको उल्लेख गर्दै उनले त्यसका लागि व्यवसायमैत्री कानुन, लगानीमैत्री वातावरण र सहज प्रशासनिक प्रक्रिया आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
विदेशमा रहेर पनि नेपालसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै आर्थिक विकासमा योगदान दिन सकिने उदाहरणका रूपमा बुद्धिसागर सुवेदीलाई हेरिएको छ।