काठमाडौं – गैरआवासीय नेपाली संघ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १३औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट अमृता थापा कंञ्चन महिला सचिव पदमा निर्विरोध चयन भएकी छन्।
चयनपछि सार्वजनिक सन्देशमार्फत कंञ्चनले आफूलाई विश्वास, साथ र समर्थन गर्ने सम्पूर्ण अग्रज, साथीभाइ तथा विश्वभर रहेका नेपाली दाजुभाइ–दिदीबहिनीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्।
उनले प्राप्त जिम्मेवारीलाई इमानदारी, प्रतिबद्धता र उत्तरदायित्वका साथ निर्वाह गर्ने बताउँदै संस्थालाई अझ सशक्त, समावेशी र एकताबद्ध बनाउने लक्ष्य लिएकी छन्। अभियानका क्रममा सहयोग गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा संस्थागत सुधार र सक्रिय भूमिकामार्फत योगदान दिने प्रतिवद्धता जनाएकी छन्।
कंञ्चनले एनआरएनएभित्र निरन्तर साथ, सहयोग र सुझावको अपेक्षा राख्दै संगठनलाई अझ प्रभावकारी बनाउने दिशामा अघि बढ्ने उल्लेख गरेकी छन्।
उनको चयनलाई एनआरएनएमा महिला नेतृत्वको सशक्त उपस्थिति र समावेशीताको सन्देशका रूपमा समेत हेरिएको छ।