काठमाडौं । नेपाली कांग्रेस यतिबेला गम्भीर आन्तरिक संकटको भूमरीमा फसेको भन्दै पार्टीले अब स्पष्ट वैचारिक मार्गचित्र रोज्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका युवा नेता तथा अमेरिका बस्दै आउनुभएका युवा व्यवसायी लोकनाथ अधिकारीले पार्टीको वर्तमान अवस्था, नेतृत्व, नीति र भविष्यबारे गम्भीर प्रश्न उठाउँदै बीपी कोइरालाको विचारधारामा फर्किनु नै कांग्रेसको पुनर्जीवनको एकमात्र विकल्प भएको बताएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमा अधिकारीले नेपाली कांग्रेस आज “कहाँबाट कसरी निस्कने भन्ने टुंगो नै नभएको संकट”मा परेको उल्लेख गर्दै यस अवस्थाका लागि वर्तमान नेतृत्व मात्र नभई विगतदेखि सत्ता र शक्तिमा रमाएका अन्य नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको स्पष्ट पारेका छन्।
उनका अनुसार कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस व्यापक रूपमा चले पनि नीति सही नभएसम्म नेतृत्व परिवर्तनले कुनै अर्थ नराख्ने अवस्था देखिएको छ। “कांग्रेस २०६२/६३ पछि नै नीतिगत रूपमा च्यूत हुँदै गएको हो। बीपी कोइरालाको सिद्धान्तलाई बामपन्थी शक्तिहरूको पाउमा बिसाएपछि पार्टीमा वैचारिक विचलन सुरु भयो,” अधिकारीको टिप्पणी छ।
अधिकारीले कांग्रेसको जनआधार क्रमशः कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, “लामो समयसम्म आफू र आफ्ना वरपरका मानिसलाई मात्र केन्द्रमा राखेर गरिएको सत्ता अभ्यासले कांग्रेस र जनताको सम्बन्ध टुट्दै गएको छ। फेरि जनतासँग जोडिनु छ भने त्यो बाटो बीपी कोइरालाबाट नै जान्छ।”
उनले कांग्रेसलाई रुखसँग तुलना गर्दै सशक्त सन्देश दिएका छन्। “रुखले फल दिन छाडेपछि काम नलाग्ने हाँगा काट्ने, मलजल गर्ने हो। तर रुख नै उखाल्ने काम गरियो भने न बाँस रहन्छ न बासुरी बज्छ,” अधिकारीले चेतावनी दिँदै पार्टीभित्र देखिएको समूहगत तानातानले कांग्रेसलाई झन् कमजोर बनाउने खतरा औंल्याएका छन्।
उनका अनुसार पार्टी बलियो बनाउने नाममा एकथरी समूह ‘खाबो तान्ने’ र अर्को समूह ‘धुरी तान्ने’ प्रतिस्पर्धामा लाग्दा कांग्रेस झन् पीडामा परेको छ। अहिलेको कांग्रेस न त पुरानो पुस्ताको अपनत्व लिन सक्ने अवस्थामा छ, न त नयाँ पुस्तालाई आकर्षित गर्न सफल देखिन्छ। “विरासतको राजनीतिले सधैं पार्टी धान्न सक्दैन। नयाँ पुस्ता त कांग्रेस के हो र बीपी को हो भन्ने अन्योलमै छ,” उनले उल्लेख गरेका छन्।
यस्तो अवस्थामा नयाँ पुस्तालाई जोड्दै पुरानो पुस्ताको अनुभव र योगदानको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको अधिकारीको धारणा छ। २७–२८ पुसलाई लिएर पार्टीभित्र देखिएको रोक्ने र सफल पार्ने समूहबीचको तानातानले कांग्रेस ‘काँ एकातिर, ग्रेस एकातिर’ नहोस् भन्ने उनको आग्रह छ।
अन्त्यमा उनले वैदिक उक्ति उद्धृत गर्दै आशावादी सन्देश दिएका छन्—
“वादे वादे जायते तत्वबोधः। यस पटक कांग्रेसले वैचारिक स्पष्टता र बीपीवादको निरन्तरतामार्फत पुनर्जीवन पाओस्।”
लोकनाथ अधिकारीको यो धारणा कांग्रेसभित्र बढ्दो असन्तोष, वैचारिक बहस र पुस्तान्तरणको सन्दर्भमा अर्थपूर्ण मानिएको छ।