खोला किनारका ५१ ‘सुकुमबासी’को नाममा जग्गा भेटियो, सरकारले कारबाही प्रक्रिया अघि बढायो

theoutsidenepal.com

खोला किनारका ५१ ‘सुकुमबासी’को नाममा जग्गा भेटियो, सरकारले कारबाही प्रक्रिया अघि बढायो

काठमाडौं । काठमाडौं उपत्यकाका खोला किनारबाट हटाइएका सुकुमबासीमध्ये ५१ जनाको नाममा अन्यत्र जग्गा रहेको तथ्य फेला परेको छ। सुकुमबासीको नाममा सरकारी सुविधा लिएका तर वास्तविक रूपमा जग्गाधनी रहेको पाइएपछि सरकारले उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

सरकारी छानबिनका क्रममा वास्तविक भूमिहीन र सुविधा दुरुपयोग गर्ने व्यक्तिहरू छुट्याउने काम तीव्र पारिएको छ। सम्बन्धित निकायले भूमि अभिलेख तथा अन्य विवरण अध्ययन गर्दा ५१ जनाको नाममा जग्गा दर्ता रहेको पुष्टि भएपछि उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया सुरु गरिएको हो।

सरकारले वास्तविक भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई न्यायोचित व्यवस्थापन गर्ने नीति दोहोर्‍याउँदै, झुटा विवरण पेश गरी राज्यको सुविधा लिने प्रवृत्तिविरुद्ध कडा कदम चालिने स्पष्ट गरेको छ।

यस विषयलाई लिएर काठमाडौं महानगरपालिकाले विगतदेखि नै खोला अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको छ। अब वास्तविक सुकुमबासी र सुविधा दुरुपयोग गर्ने व्यक्तिलाई स्पष्ट रूपमा छुट्याएर व्यवस्थापन गर्ने प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया