निम्सदाइको सम्झनामा भरतपुरमा सामूहिक दीप प्रज्वलन
द टन न्युज | भरतपुर
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको साहस, योगदान र हिमालप्रतिको अतुलनीय समर्पणको स्मरणमा चितवनको भरतपुरमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
निर्मल पुर्जाका बाल्यकालका मित्र तथा युवा नेता भानुभक्त न्यौपानेको पहलमा आयोजना हुन लागेको कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीलगायत चितवनका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, युवा तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ।
भरतपुर महानगरपालिकाका पर्यटन तथा खेलकुद सल्लाहकार अनिल अधिकारीले द टन न्युजलाई दिएको जानकारीअनुसार, आगामी भदौ १० गते साँझ ६ बजे भरतपुर महानगरपालिका–२, रामनगरस्थित निर्मल पुर्जाको निवासमा सामूहिक दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना हुँदैछ।
अधिकारीका अनुसार निर्मल पुर्जाले आफ्नो जीवनको महत्वपूर्ण बाल्यकाल कक्षा ३ देखि १० सम्म चितवनमै बिताउनुभएको थियो। त्यसपछि उहाँ ब्रिटिश सेनामा भर्ती हुनुभएको थियो। बाल्यकालदेखि नै चितवनसँग जोडिएको उहाँको आत्मीय सम्बन्धलाई स्मरण गर्दै उहाँको आफ्नै निवासमा श्रद्धाको दीप बाल्न लागिएको हो।
“निर्मल पुर्जाका बाल्यकालका मित्र तथा युवा नेता भानुभक्त न्यौपानेको पहलमा हुन लागेको यस कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीलगायत चितवनका थुप्रै प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहनेछ। चितवनसँग उहाँको बाल्यकालदेखिको आत्मीय सम्बन्धलाई स्मरण गर्दै आयोजना हुन लागेको यस कार्यक्रमले उहाँको योगदान र स्मृतिलाई सम्मान गर्ने विश्वास लिएको छु,” पर्यटन तथा खेलकुद सल्लाहकार अनिल अधिकारीले भने।
हिमाललाई आफ्नो कर्मभूमि बनाउँदै विश्व पर्वतारोहणको क्षेत्रमा नेपालको नामलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका निम्सदाइको साहस, दृढ संकल्प र असाधारण यात्रालाई स्मरण गर्दै दीप प्रज्वलन गर्न लागिएको आयोजकको भनाइ छ।
निम्सदाइको निधनले नेपाली पर्वतारोहण क्षेत्रसँगै उहाँका परिवार, आफन्त, साथीभाइ, शुभेच्छुक तथा विश्वभर रहेका समर्थकहरूमा गहिरो शोक उत्पन्न गरेको छ। उहाँको योगदान र स्मृतिलाई चितवनबाट सम्मानपूर्वक सम्झन तथा नयाँ पुस्तालाई उहाँको साहस र समर्पणबाट प्रेरणा दिलाउने उद्देश्यले कार्यक्रमलाई विशेष बनाउने तयारी गरिएको छ।
आयोजकले परिवार, आफन्त, बाल्यकालका साथीहरू, पर्वतारोहणप्रेमी, युवा, सामाजिक अभियन्ता, शुभेच्छुक तथा सर्वसाधारण सबैलाई कार्यक्रममा उपस्थित भई दिवंगत निम्सदाइप्रति श्रद्धाञ्जली अर्पण गर्न हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम विवरण
स्थान: निर्मल पुर्जाको निवास, रामनगर, भरतपुर–२, चितवन
समय: भदौ १० गते, साँझ ६ बजे
कार्यक्रम: सामूहिक दीप प्रज्वलन तथा श्रद्धाञ्जली
चितवनको बाल्यकालदेखि विश्वको सर्वोच्च हिमाली शिखरसम्म—निम्सदाइको साहस, संघर्ष र योगदान सधैँ नेपाली पुस्ताका लागि प्रेरणाको उज्यालो बनिरहोस्।
द टन न्युज
Accuracy • Balance • Credibility