भूमि मन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेट, भूमि प्रशासनको डिजिटल रूपान्तरणमा सहकार्यको छलफल
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले नेपालका लागि चीनका राजदूत Zhang Maoming सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
मन्त्रालयमा सम्पन्न भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित Project Aid to Nepal, सिभिल अस्पतालको स्तरोन्नति, अस्पतालमा क्यान्सर उपचारका लागि CAR T-cell Laboratory स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरण (Digitalization of Land Administration) सम्बन्धी सहकार्यका विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा राजदूत Zhang Maoming ले मन्त्रालयले सरकार गठनपछिका पहिलो १०० दिनमा हासिल गरेको कार्यप्रगतिप्रति प्रशंसा व्यक्त गर्दै सेवा प्रवाह सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण र सुशासन प्रवर्द्धनका क्षेत्रमा मन्त्रालयले अघि सारेका पहलहरू प्रभावकारी रहेको उल्लेख गर्नुभएको थियो।
सरकार गठनपछि पहिलो १०० दिनका प्राथमिकतामध्ये भूमि प्रशासन सुधारलाई विशेष महत्व दिँदै आएकी मन्त्री रावलले नेपालका लागि चीनका राजदूतसँग पहिलोपटक शिष्टाचार भेट गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक छलफल गर्नुभएको हो।