काठमाडौं । नेपाली कांग्रेसले आज पौष २५, २०८२ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमार्फत पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिइएको हो।
उक्त जानकारी नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको छ। विज्ञप्तिमा पत्रकार सम्मेलन किन स्थगित गरियो भन्ने विषयमा विस्तृत कारण खुलाइएको छैन।
यसैबीच, पार्टीभित्र विशेष महाधिवेशनको मिति र तयारीलाई लिएर आन्तरिक विवाद चर्किँदै गएको देखिएको छ। स्रोतका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा अघि बढिसकेका छन्।
तर, पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने विशेष महाधिवेशन रोक्ने प्रयासमा रहेको बताइएको छ। देउवा पक्षले अधिवेशन वैशाखमा हुने भन्दै आएको भए पनि, गगन–विश्वप्रकाश पक्षले पुसमै विशेष महाधिवेशन गर्ने तयारीसहित गतिविधि तीव्र बनाएको कांग्रेसभित्र चर्चा छ।
पत्रकार सम्मेलन स्थगित हुनु र विशेष महाधिवेशनलाई लिएर देखिएको मतभेदले नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा थप स्पष्ट हुने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।