भारत–नेपाल सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता, भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता
द टन न्युज । नयाँदिल्ली ।
भारतका गृहमन्त्री अमित शाह र नेपालका गृहमन्त्री सुधन गुरुङबीच भारतको नयाँदिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका अवसरमा भेटवार्ता भएको छ।
भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाली समकक्षी गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै भारत र नेपालबीचको द्विपक्षीय सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शाहका अनुसार भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउने विषयमा प्रतिबद्धता दोहोर्याइएको छ।
नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। दुवै देशबीच सुरक्षा, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा क्षेत्रीय सहकार्यजस्ता विषयमा समन्वय महत्त्वपूर्ण मानिन्छ।
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा साझा धारणा निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ। यस भेटले नेपाल–भारतबीचको आपसी संवाद र सहकार्यलाई थप निरन्तरता दिने अपेक्षा गरिएको छ।
द टन न्युज
Accuracy, Balance and Credibility