लोकतान्त्रिक मूल्य र आन्तरिक सुधारको पक्षमा जश्मिन ओझाको स्पष्ट धारणा

theoutsidenepal.com

जनादेश पार्टीकी केन्द्रीय सदस्य जश्मिन ओझाले फरक राजनीतिक धार र यात्रामा रहे पनि लोकतान्त्रिक मूल्य, साहस र परिवर्तनको आकांक्षाको सम्मान गर्नु सबैको कर्तव्य भएको स्पष्ट धारणा व्यक्त गरेकी छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले नेपाली कांग्रेसभित्र आन्तरिक सुधारका लागि अघि बढिरहेका गगन थापा र विश्वप्रकाश शर्माको प्रयासलाई साथ दिँदै दृढतापूर्वक उभिएका नेताहरू तथा कार्यकर्ताहरूप्रति हार्दिक सम्मान व्यक्त गरेकी छन्। उनले आन्तरिक सुधारका लागि उठ्ने आवाज कहिल्यै कमजोर नहुने उल्लेख गर्दै, त्यस्ता आवाजहरूले तत्काल परिणाम नदिए पनि जनताको मन जित्ने विश्वास व्यक्त गरेकी छन्।


त्यसैगरी, नेकपा एमालेभित्र आन्तरिक प्रतिस्पर्धामार्फत कम्युनिस्ट आन्दोलनको मर्म र नयाँ पुस्ताको चेतनालाई जोगाउन प्रयास गर्ने नेतृ विन्दा पाण्डे र उषा किरणप्रति पनि ओझाले सम्मान व्यक्त गरेकी छन्। उनले पराजयलाई हारका रूपमा होइन, जनताको नजरमा प्राप्त नैतिक विजयका रूपमा बुझ्नुपर्ने उल्लेख गरेकी छन्।


जश्मिन ओझाले गगन थापा र विश्वप्रकाश शर्माले साहसका साथ अघि बढ्ने निर्णय गरेको उल्लेख गर्दै, यसले देशलाई नयाँ राजनीतिक निकास दिने आशा व्यक्त गरेकी छन्। साथै, यसबाट नयाँ र पुराना सबै राजनीतिक दलहरूले पाठ सिक्ने र नयाँ राजनीतिक संस्कार विकास गर्ने वातावरण निर्माण हुने अपेक्षा पनि उनले राखेकी छन्।


उनले दल कुनै व्यक्ति वा सीमित कार्यकर्ताको सम्पत्ति नभई समाज परिवर्तन गर्ने सामाजिक संस्था भएको स्पष्ट पार्दै, समाज सुधार्न चाहने हो भने यस्ता संस्थाहरू स्वयं सुध्रनु अनिवार्य रहेको बताइन्। फरक दलमा रहे पनि सकारात्मक परिवर्तनका हरेक प्रयासमा आफ्नो सधैं शुभेच्छा रहने उनको भनाइ छ।


जश्मिन ओझाको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा परिपक्व, लोकतान्त्रिक र परिवर्तनमुखी सोचको प्रतिबिम्बका रूपमा लिइएको छ।


प्रतिक्रिया