एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्य सुदृढ गर्ने सहमति, मध्यपूर्व संकटमा नेपाली उद्धार प्राथमिकता

theoutsidenepal.com

काठमाडौँ — गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल भएको बताइएको छ।


भेटघाटमा NRNA का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन संघभित्रै समर्पित संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँले आपतकालीन अवस्थाहरूमा छिटो उद्धार तथा सहयोग पुर्‍याउन संस्थागत सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।


त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा, उद्धार र राहतका लागि दुवै संस्थाबीच समन्वित प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


छलफलका क्रममा दुवै पक्षले विदेशमा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित साझा समस्याहरू समाधान गर्न मिलेर काम गर्ने सहमति समेत भएको जनाइएको छ।


भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले NRNA का नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।


उक्त भेटघाटमा उपाध्यक्षहरू डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, चिन्तामणि सापकोटा, महासचिव चिरञ्जीवी खड्का, सह-कोषाध्यक्ष गंगा खतिवडा, महिला संयोजक रश्मी थापा, महिला क्षेत्रीय संयोजक राधा सिग्देल ‘किरण’, यूरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, सचिव दीपेश खत्री, एनसीसी दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनसीसी साउदीका अध्यक्ष उमेश भट्टराई, कार्यकारी प्रमुख राजेन्द्र कुमार राउत लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया