अमेरिकामा छोराको निधनपछि समाजसेवी हेम थापाको पीडा: “६ दिनसम्म कसैले साथ दिएन”

theoutsidenepal.com

अमेरिकामा छोराको निधनपछि समाजसेवी हेम थापाको पीडा: “६ दिनसम्म कसैले साथ दिएन”

अमेरिका — अमेरिकी सेनामा कार्यरत आफ्ना २४ वर्षीय कान्छा छोरा सुनिल थापाको आकस्मिक निधनपछि चर्चित समाजसेवी हेम थापा गहिरो शोकमा डुबेका छन्। छोराको मृत्यु भएको ६ दिन बितिसक्दा पनि अमेरिकामा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाबाट कुनै ठोस सहयोग, सल्लाह वा साथ नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा र असन्तुष्टि सार्वजनिक गरेका छन्।

ताप्लेजुङ घर भई लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थापाले टिकटक भिडियोमार्फत आफूले जीवनमा पहिलोपटक यति ठूलो पीडा भोगिरहेको बताए। उनले भने, “भगवानलाई यति धेरै पुजें, सेवा र धर्म गरेँ, तर भगवानले मेरो सेवा देख्नुभएन जस्तो लाग्यो। अहिले मसँग आफ्नो पीडा व्यक्त गर्ने शब्दसमेत छैन।”

थापाका अनुसार अमेरिकी सेनामा तालिमका क्रममा दुर्घटनावश गोली लागेर छोरा सुनिलको निधन भएको हो। घटनापछि कानुनी प्रक्रिया, शव बुझ्ने प्रक्रिया र अन्य आवश्यक कार्यबारे आफू अन्योलमा रहेको तर कसैले उचित मार्गदर्शन नगरेको उनको गुनासो छ।

उनले स्पष्ट रूपमा भने, “मलाई कसैको आर्थिक सहयोग चाहिएको होइन। तर यस्तो कठिन परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे कसैले सल्लाहसम्म दिएन। यही कारण अमेरिकामा रहेका धेरै नेपाली र केही संघसंस्थाप्रति मेरो गहिरो निराशा र आक्रोश पैदा भएको छ।”

हेम थापा दम्पती विगत २२ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। यस अवधिमा उनीहरूले नेपालका विद्यालय, मन्दिर, अनाथालय तथा विभिन्न सामाजिक क्षेत्रमा व्यक्तिगत रूपमा २० करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेको बताइन्छ। समाजसेवामा समर्पित जीवन बिताएका थापाले संकटको घडीमा आफ्नै समुदायबाट अपेक्षित साथ नपाउँदा आफू अत्यन्त दुःखी भएको बताएका छन्।

भिडियोमा उनले थप भनेका छन्, “म नेपाली हुनुमा सधैं गर्व गर्थें। नेपाली समुदाय र संस्थाप्रति विश्वास थियो। तर आज म पूर्ण रूपमा एक्लो महसुस गरिरहेको छु।”

हाल सुनिल थापाको शव प्राप्त गर्ने प्रक्रिया जारी रहेको छ भने घटनाबारे अमेरिकी सैन्य निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।

हेम थापाले सार्वजनिक रूपमा व्यक्त गरेको यो पीडाले विदेशमा रहेका नेपाली समुदाय, सामाजिक संस्था र आपत्कालीन अवस्थाका बेला उनीहरूको भूमिकाबारे गम्भीर बहस सिर्जना गरेको छ।


प्रतिक्रिया