इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्री सस्मित पोखरेलद्वारा सरोकारवालासँग छलफल
काठमाडौं, ९ साउन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) तथा इन्जिनियरिङ कलेजहरूको छाता संगठन (एकोन) का पदाधिकारीसँग उच्चस्तरीय छलफल गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, आईओईका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्य, एकोन त्रिवि च्याप्टरका संयोजक धनप्रसाद पौडेल, मन्त्रालयका उच्च अधिकारी तथा विभिन्न इन्जिनियरिङ कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउने, अध्ययनपछि नेपालमै रोजगारी र अवसर सुनिश्चित गर्ने तथा गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादनका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो। उहाँले परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनसम्म मन्त्रालय आवश्यक सुधारका लागि प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै इन्जिनियरिङ अध्ययनलाई अझ व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सबै इन्जिनियरिङ कलेजले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा ले विद्यार्थी आकर्षण बढाउन समयानुकूल र प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्नुपर्ने धारणा राख्नुभयो।
उच्च शिक्षा महाशाखाका प्रमुख तथा सहसचिव श्रीप्रसाद भट्टराई ले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) का मापदण्डअनुसार शैक्षिक गुणस्तर कायम गर्दै इन्जिनियरिङ कलेजमा विद्यार्थी संख्या वृद्धि गर्न जोड दिनुभयो। सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार र शिक्षामा सबैको पहुँच विस्तार गर्ने दिशामा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो।
छलफलमा एकोन त्रिवि च्याप्टरका संयोजक धनप्रसाद पौडेलले इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थी आकर्षण बढाउन तथा प्रवेश परीक्षाको उत्तीर्णदर वृद्धि गर्न आईओईबाटै विशेष पहल आवश्यक रहेको सुझाव दिनुभयो।
कार्यक्रममा काठमाडौं इन्जिनियरिङ कलेज, सगरमाथा इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियरिङ कलेज तथा नेशनल कलेज अफ इन्जिनियरिङका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।