गोकर्णेश्वर नगरपालिकाभित्रका सहकारी संस्थालाई अत्यावश्यक सूचना

theoutsidenepal.com

गोकर्णेश्वर नगरपालिकाभित्रका सहकारी संस्थालाई अत्यावश्यक सूचना

काठमाडौं — गोकर्णेश्वर नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई लक्षित गर्दै नगरपालिकाले महत्वपूर्ण सूचना जारी गरेको छ। सहकारी ऐन, २०७४ अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता तथा वर्गीकरण सम्बन्धी जिम्मेवारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई तोकिएको परिप्रेक्ष्यमा यो सूचना जारी गरिएको हो।

नगरपालिकाका अनुसार प्राधिकरणबाट २०८२ असोज १० गते जारी गरिएको “दर्ता अभिलेखीकरण सम्बन्धी मापदण्ड (संशोधन सहित)” कार्यान्वयनमा आइसकेको छ। सोही अनुरूप सहकारी संस्थाहरूले Financial Cooperative Registration System (FCRS) मार्फत आफ्नो दर्ता अभिलेखीकरण प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।


सूचनामा उल्लेख गरिएअनुसार नगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूले उक्त प्रणालीमा सहभागी भई नियमानुसार संस्थाको सञ्चालन इजाजत पत्र लिनुपर्नेछ। यस प्रक्रियामा सहभागी नभएका संस्थाहरूले आगामी दिनमा कानुनी जटिलता भोग्नुपर्ने सम्भावना रहेको जनाइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले सबै सम्बन्धित सहकारी संस्थाहरूलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनले भने, “सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन यो प्रक्रिया अत्यन्त आवश्यक छ।”

नगरपालिकाले सम्बन्धित सबै सहकारी संस्थाहरूलाई सूचनाको पालना गर्न तथा आवश्यक जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क राख्न अनुरोध गरेको छ।

प्रतिक्रिया