अष्ट कुमार कवेंले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । द टन न्युज । विशेष रिपोर्ट
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुरका नेता अष्ट कुमार कवेंले केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कवेंले केन्द्रीय सदस्य (खुलातर्फ) उम्मेदवारी दिएका हुन्। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा पनि अष्ट कुमार कवेंको नाम खुला केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा समावेश छ। खुलातर्फ ४५ केन्द्रीय सदस्य पदका लागि ९२ जनाको उम्मेदवारी परेको छ।
भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका कवें लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनी यसअघि मध्यपुर थिमि नगरपालिकाको मेयर पदका उम्मेदवार समेत बनेका थिए। राजनीति बाहेक स्थानीय खेलकुद, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको विकासमा समेत उनको सक्रियता रहेको जनाइएको छ।
उम्मेदवारीसँगै कवेंले महाधिवेशन प्रतिनिधिहरूसँग विश्वास, आत्मीयता, साथ र निरन्तर सहयोगको अपेक्षा गरेका छन्। उनको चुनावी सन्देशमा ‘यहाँहरूको एक मत, मेरो लागि बहुमत’ भन्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ र निर्वाचन समितिले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको छ।