सुर्खेत–जुम्ला–मुगु सडक स्तरोन्नतिका लागि १ अर्ब बजेट विनियोजन, बहुबर्षिय ठेक्कातर्फ सरकारको तयारी
काठमाडौं, मंसिर २०८२ — कर्णाली प्रदेशको प्रमुख यातायात मार्ग सुर्खेत–जुम्ला–मुगु (कर्णाली राजमार्ग) को स्तरोन्नतिका लागि सरकारले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त निर्णयलाई राजनीतिक तथा स्थानीय तहमा सकारात्मक उपलब्धिका रूपमा लिइएको छ।
बरिन्दा कडायत ले आफ्नो घोषणापत्रको पहिलो बुँदा अनुरूप सडक स्तरोन्नतिका लागि निरन्तर पहल गरिएको र सरकारसँगको समन्वयमा बजेट विनियोजन गराउन सफल भएको जानकारी दिएकी छन्।
उनका अनुसार कर्णालीको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै उक्त सडकलाई क्रमशः डबल लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। साथै, यात्रा सहज, सुरक्षित र दीर्घकालीन बनाउन बहुबर्षिय ठेक्का प्रणालीमार्फत काम अघि बढाउन पनि पहल गरिने उनले बताएकी छन्।
यसैबीच, कर्णाली प्रदेशको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेकोमा सरकारप्रति आभार व्यक्त गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि कर्णाली क्षेत्रको सडक पूर्वाधार सुधारलाई आफ्नो विकास प्राथमिकतामध्ये एक रूपमा लिँदै आएको छ।