गलत संगतले जीवन र भविष्यमा गम्भीर असर पार्ने — डा. अबुल हुसेन अन्सारी

theoutsidenepal.com

सुनसरी — नेकपा (एमाले) का युवा नेता डा. अबुल हुसेन अन्सारीले सामाजिक सञ्जालमार्फत गलत संगत, स्वार्थी सम्बन्ध र नकारात्मक सोच भएका व्यक्तिहरूबाट टाढा रहन आग्रह गर्नुभएको छ। उहाँले मानिसको जीवनमा संगत र सम्बन्धले ठूलो प्रभाव पार्ने उल्लेख गर्दै सही मानिससँगको साथले उचाइमा पुर्‍याउने र गलत मानिसले जीवनलाई कमजोर बनाउने चेतावनी दिनुभएको हो।


अन्सारीले आफ्नो स्टाटसमा लेख्नुभएको छ, “हामीले हृदयमै राखेका केही मानिसहरूले नै कठिन समयमा धोका दिन्छन्। यस्ता मानिसहरू राम्रो समयसम्म मात्रै साथ दिन्छन् र खराब समय आएपछि रंग बदल्छन्। उनीहरूको नकारात्मक व्यवहारले बिस्तारै आत्मविश्वास, शान्ति र भविष्यप्रतिको सपना भत्काउँदै लैजान्छ।”


उहाँले आफ्ना विचारमा मानिसको मन, समय र ऊर्जा सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै, यी अमूल्य कुराहरू जथाभावी कसैलाई नदिन सुझाव दिनुभएको छ। गलत सम्बन्धका कारण कतिपय मानिस मानसिक रूपमा कमजोर बन्ने र दीर्घकालीन रूपमा जीवनमै ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ।


राजनीतिक सन्देश दिँदै अन्सारीले मत परिवर्तनको अभियान जारी रहेको जनाउँदै बाहिरबाट आएका आगन्तुक र टुरिस्ट नेताहरूलाई सुनसरी क्षेत्र नम्बर ४ का जनताले पहिचान गरेर उचित निर्णय लिनुपर्ने बताउनुभएको छ। उहाँले स्थानीय जनताको हक, अधिकार र भविष्यको संरक्षणका लागि सचेत भएर निर्णय गर्न आह्वान गर्नुभएको छ।


“सही मान्छेले माथि उठाउँछ, गलत मान्छेले गलाउँछ। त्यसैले जीवनमा कोसँग बस्ने र कसलाई मन पराउने भन्ने कुरा पटक–पटक सोचेर मात्र निर्णय गर्नुपर्छ,” अन्सारीको भनाइ छ।


प्रतिक्रिया