झापा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र–५ का चुनाव प्रचार–प्रसार समिति संयोजक इन्द्र भण्डारीले झापा–५ मा अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारीप्रति जनताको व्यापक समर्थन देखिएको बताएका छन्।
भण्डारीका अनुसार वडा तथा टोलस्तरका पार्टी कमिटीहरू सक्रिय रूपमा परिचालित भएका छन् भने सयौँ कार्यकर्ता घरदैलो अभियानमा जुटेका छन्। प्रचार–प्रसारलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तीव्र बनाइएको उनले बताए।
चुनावी अभियानका क्रममा जनताबाट उत्साहजनक सहभागिता र जिज्ञासा प्राप्त भइरहेको उनको भनाइ छ। केही शक्तिहरूले सामाजिक सञ्जालमार्फत कुप्रचार गरिरहेको आरोप लगाउँदै उनले त्यसको तथ्यसहित प्रतिवाद भइरहेको उल्लेख गरे।
उम्मेदवारी दर्ताको समयमा आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै भण्डारीले अहिले परिस्थिति एमालेको पक्षमा अनुकूल बन्दै गएको दाबी गरे।
झापा–५ लाई ‘इपि सेन्टर’ भनिए पनि वास्तविक रूपमा सबै निर्वाचन क्षेत्र समान रहेको उनले बताए। अध्यक्ष ओलीको उम्मेदवारीका कारण मात्र चर्चा बढेको उनको भनाइ छ।
२०४८ सालयता झापाको पश्चिम क्षेत्रमा उल्लेखनीय पूर्वाधार विकास भएको उल्लेख गर्दै उनले दमक–रवि–चिसापानी सडक, खोलामा तटबन्धन, पक्की पुल निर्माण, मदन भण्डारी मार्ग तथा औद्योगिक पार्कजस्ता योजनाहरू अघि बढेको बताए।
सर्वहारा वर्गसँग सम्बन्ध टुटेको आरोप अस्वीकार गर्दै उनले सुकुम्बासी समस्या समाधान, विपन्नका लागि आवास र रोजगारी कार्यक्रम सञ्चालन गरिएको दाबी गरे।
मतदाताबाट आएका केही गुनासा जायज भएको स्वीकार गर्दै उनले ती विषयलाई गम्भीरतापूर्वक लिइएको बताए। राष्ट्रिय जिम्मेवारीका कारण केही अपेक्षा पूरा हुन नसकेको हुन सक्ने उनको भनाइ छ।
विदेशमा रहेका युवालाई देशको यथार्थ अवस्था बुझेर निर्णय लिन आग्रह गर्दै उनले भ्रम र कुप्रचारबाट टाढा रहन अपिल गरे।
भण्डारीले झापा–५ मा अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित विजयी हुने विश्वास व्यक्त गरेका छन्।