चितवन मालपोत कार्यालयमा शौचालय पुनर्निर्माण र स्वच्छ खानेपानीको व्यवस्था गरिने, आर.के. शर्माले लिए जिम्मेवारी
भरतपुर, चितवन।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का निवर्तमान अध्यक्ष आर.के. शर्माले चितवन जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीका लागि शौचालय पुनर्निर्माण तथा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने जिम्मेवारी लिएको बताएका छन्।
हालै गृह जिल्ला चितवन भ्रमणका क्रममा मालपोत कार्यालय पुगेका शर्माले हजारौँ सेवाग्राही आधारभूत सुविधा अभावका कारण सास्ती खेपिरहेको अवस्था प्रत्यक्ष देखेपछि आवश्यक पहल थालेका हुन्।
उनका अनुसार चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालसँग भएको छलफल तथा मालपोत कार्यालयका प्रमुख दाहालको समन्वयमा कार्यालयमा शौचालय पुनर्निर्माण र स्वच्छ पिउने पानीको व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ।
यस पहलका लागि सहयोग र समन्वय गरेको भन्दै शर्माले प्रमुख जिल्ला अधिकारी अर्याल र मालपोत कार्यालय प्रमुख दाहालप्रति आभार व्यक्त गरेका छन्।
शर्माले राष्ट्र निर्माण सरकारको मात्र दायित्व नभई जिम्मेवार नागरिक, निजी क्षेत्र र समाजका सबै पक्षले आफ्नो ठाउँबाट योगदान गरेमा ठूलो परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।
उनले चेपाङ बालबालिकाको शिक्षादेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानसम्म आफ्ना सामाजिक अभियानमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, छोटो सूचनामै उपस्थित भई अभियानलाई जनसमक्ष पुर्याउन सहयोग गर्ने सञ्चारकर्मीहरूप्रति पनि धन्यवाद ज्ञापन गरेका छन्।