रोबिन शेरचनद्वारा लगानी बोर्डकी नवनियुक्त सीईओ याङ्की उक्याबलाई बधाई, एनआरएनएसँग सहकार्य विस्तारको प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं लगानी विभाग प्रमुख रोबिन शेरचनले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त हुनुभएकी याङ्की उक्याबलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा शेरचनले नेपालको लगानी बोर्डको इतिहासमै पहिलो महिला सीईओका रूपमा नियुक्त हुनुभएकोमा उक्याबलाई बधाई दिँदै, उहाँको नियुक्ति समावेशिता, महिला नेतृत्व तथा अतिलोपोन्मुख आदिवासी जनजातिमध्ये वालुङ समुदायको सशक्तीकरणका दृष्टिले समेत ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको छ।
उहाँले विकास अर्थशास्त्र, सार्वजनिक नीति, हरित अर्थतन्त्र, जलवायु वित्त, सार्वजनिक–निजी साझेदारी (PPP), डिजिटल रूपान्तरण, दिगो विकास तथा लगानी प्रवर्द्धनका क्षेत्रमा उक्याबले हासिल गर्नुभएको ज्ञान, अनुभव र दक्षताले नेपालको लगानी वातावरण सुधार तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
शेरचनले एनआरएनए आईसीसीको लगानी विभागले प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप, प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा लगानी बोर्ड नेपाल र एनआरएनएबीच औपचारिक तथा आधिकारिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार संयुक्त लगानी प्रवर्द्धन, रणनीतिक परियोजनामा साझेदारी तथा लगानीमैत्री वातावरण निर्माणका लागि सहकार्य विस्तार गरिनेछ, जसबाट नेपालको दिगो आर्थिक विकास, पूर्वाधार विस्तार तथा समग्र राष्ट्रिय समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
शेरचनले याङ्की उक्याबको नेतृत्वमा लगानी बोर्डले राष्ट्रिय प्राथमिकताका परियोजनाको विकास, विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन र नेपालको लगानी वातावरण सुधारमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै उहाँको कार्यकाल नेपालको आर्थिक समृद्धिका लागि ऐतिहासिक र उपलब्धिमूलक बन्ने शुभकामना व्यक्त गर्नुभएको छ।