ईश्वरी भुजेल हत्या प्रकरण: मुख्य अभियुक्तसहित थप ३ जना पक्राउ, ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भएको ईश्वरी भुजेल हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि घटनाका मुख्य अभियुक्त तथा मृतकका पति ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगर पक्राउ परेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान तथा जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा अनुसन्धान अघि बढिरहेको उक्त घटनामा मृतक ईश्वरी भुजेलका माइती पक्षले अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै जाहेरी दिएपछि थप तीन जनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३६ वर्षीय विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा तथा जुम्ला घर भई हाल गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया प्रतीक्षा आचार्य रहेका छन्।
प्रहरीका अनुसार चारै जना अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
गत बिहीबार तारकेश्वर–६ स्थित निवासमा ईश्वरी भुजेल मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका उनका पति कुमार थापा मगरलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो।
घटनाले सामाजिक सञ्जालदेखि स्थानीय समुदायसम्म व्यापक चर्चा पाएको छ। मृतकका आफन्तहरूले निष्पक्ष र गहिरो अनुसन्धानको माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन्।
प्रहरीले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको र प्रमाण तथा तथ्यका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। हत्या प्रकरणको वास्तविक कारण र अन्य सम्भावित संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी रहेको छ।