लमजुङ । वरिष्ठ लोकगायिका माया गुरुङ सांगीतिक साँझ–२०८३ लाई सफल बनाउन बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, गीतकार तथा राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले कुल १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अनुसार सांगीतिक साँझका लागि पहिलो सहयोगी दाताका रूपमा सुनारले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसक्नुभएको छ। साथै, प्रतिष्ठानभित्र कलाकार कल्याण र लोकसंस्कृतिको संरक्षणका लागि स्थापना गरिने ‘राजशान्ति अक्षय कोष’ मा थप १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ।
प्रतिष्ठानले सुनारको योगदानलाई केवल आर्थिक सहयोगका रूपमा नभई लोकसंस्कृतिको संरक्षण, स्रष्टाप्रतिको सम्मान र कलाकारको भविष्य सुरक्षित बनाउने अभियानप्रतिको गहिरो प्रतिबद्धता का रूपमा व्याख्या गरेको छ।
स्थापना हुन लागेको ‘राजशान्ति अक्षय कोष’ बाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नवप्रतिभा कलाकारलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले कुल १ लाख ५० हजार रुपैयाँको सहयोगले संस्थाको इतिहासमा नयाँ अध्याय थपेको उल्लेख गर्दै राजशान्ति सुनारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। साथै, उहाँको प्रेरणादायी सहयोगले अन्य शुभेच्छुक तथा प्रवासी नेपालीलाई पनि लोकसंस्कृति संरक्षण र कलाकार कल्याणको अभियानमा सहभागी हुन प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।
लमजुङको फूलबारी घर भई हाल बेलायतमा बसोबास गर्दै आएका राजकुमार सुनार (राजशान्ति) र उहाँकी धर्मपत्नी शान्ति सुनारद्वारा स्थापना गरिएको राजशान्ति फाउन्डेसन शिक्षा, स्वास्थ्य, खेलकुद, मौलिक लोकगीत–संगीत, साहित्य तथा विभिन्न सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।