काठमाडौं — नेपाली कांग्रेसभित्र आधिकारिकता विवाद चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरू शुक्रबार बिहानै निर्वाचन आयोग पुगेका छन्। देउवा पक्षका नेताहरू कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेका हुन्।
स्रोतका अनुसार देउवा पक्षबाट विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतलगायत नेताहरू आयोग कार्यालय पुगिसकेका छन्।
गगन थापा–विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकता सम्बन्धी विवाद उत्पन्न भएको हो। यही विवादका बीच गगन पक्षले बिहीबार निर्वाचन आयोगमा आधिकारिकता माग गर्दै निवेदन दर्ता गराइसकेको छ।
गगन पक्षको निवेदनपछि निर्वाचन आयोग एक निर्णयमा पुग्नुपर्ने दबाबमा परेको छ। यसै सन्दर्भमा देउवा पक्षले पनि आफ्नो दाबी बलियो बनाउन तथा आयोगलाई आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले नेताहरूलाई आयोग पठाएको बुझिएको छ।
कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयले पार्टीभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ। निर्वाचन आयोगको निर्णयले कांग्रेसको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।