रास्वपा निर्वाचन तयारीमा: बालेन–रवि अगाडि, देशभर उम्मेदवार छनोट जारी

theoutsidenepal.com

“रास्वपा निर्वाचन तयारीमा: बालेन–रवि अगाडि, देशभर उम्मेदवार छनोट जारी”


काठमाडौं — गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछिको राजनीतिक परिस्थितिमा नेपाल छिट्टै प्रतिनिधिसभा निर्वाचनमा प्रवेश गर्दैछ। ६ महिनाभित्र प्रतिनिधिसभा चुनाव गराउने म्यान्डेट पाएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते चुनावको मिति घोषणा गरेको छ।


देशभर राजनीतिक दलहरु माघ ६ गते उम्मेदवारी दर्ता गराउँदैछन्। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख रवि लामिछाने नेतृत्वमा देशव्यापी उम्मेदवार चयनमा व्यस्त छ। पार्टीले माघ ५ गते जनकपुरमा निर्वाचन केन्द्रित पहिलो चुनावी घोषणासभा गर्ने तयारी गरेको छ।


उक्त घोषणासभामा पहिलो पटक रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एउटै मञ्चमा देखिनेछन्। पूर्वसहमति अनुसार, पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा बालेनलाई अघि सारेको छ। रास्वपा देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने तयारीमा छ।


रास्वपाका नेताका अनुसार, उम्मेदवार छनोट फाइनल नभए पनि अधिकांश निर्वाचन क्षेत्रको सूची लगभग निश्चित भइसकेको छ। प्रमुख उम्मेदवारहरु यसप्रकार छन्:


  • रवि लामिछाने: चितवन–२
  • बालेन: झापा–५ (पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र)
  • डोलप्रसाद अर्याल: काठमाडौं–९
  • डा. स्वर्णिम वाग्ले: तनहुँ–१
  • शिशिर खनाल: काठमाडौं–६
  • हरि ढकाल: चितवन–१
  • सोविता गौतम: चितवन–३
  • डा. तोसिमा कार्की: ललितपुर–३
  • गणेश पराजुली: काठमाडौं–७
  • विराजभक्त श्रेष्ठ: काठमाडौं–८
  • मनिष झा: धनुषा–३
  • दीपक बोहोरा: कञ्चनपुर–२
  • भुपदेव शाह: अछाम–२
  • सुनिल लम्साल: रुपन्देही–१
  • सागर ढकाल: डडेलधुरा



रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा उम्मेदवार छनोट उपसमिति गठन गरिएको छ। पार्टीले योग्य उम्मेदवार छनोट र प्रक्रिया सिफारिस गर्ने जिम्मेवारी उपसमितिलाई दिएको छ।


गत निर्वाचनमा समानुपातिकसहित २१ सिट जितेको रास्वपा चौथो ठूलो शक्ति बनेको थियो। यसपटक पार्टीले १५१ सिट जितेर बहुमतको सरकार बनाउने दाबी गर्दै आएको छ। रास्वपा स्रोतका अनुसार, “उमेदवारको फाइनल सूची अझै निश्चित नभए पनि पूर्वनिर्वाचित नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नेछन् र आन्तरिक प्रतिस्पर्धाबाट सक्षम नेतृत्व चयन हुनेछ।”


प्रतिक्रिया