कैलाली — मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण सुरक्षा परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता गोरख बहादुर बिष्ट ‘आनन्द’ले त्यहाँ कार्यरत लाखौं नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले मध्यपूर्वको विकसित अवस्थाबारे सुसूचित रहन, स्थानीय प्रशासनका निर्देशन कडाइका साथ पालना गर्न र अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्। “आफ्नो ख्याल गर्नुहोस्, सुरक्षित रहनुहोस्,” भन्दै उनले सबै नेपालीलाई संयमता र सावधानी अपनाउन अनुरोध गरेका छन्।
नेता बिष्टले नेपाल सरकार, Ministry of Foreign Affairs Nepal तथा सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न अविलम्ब प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। उनले आपत्कालीन सहायता, परामर्श सेवा र आवश्यक परे सुरक्षित व्यवस्थापनको पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।
मध्यपूर्वमा कार्यरत नेपाली श्रमिक, विद्यार्थी र व्यवसायीहरूको ठूलो संख्या रहेको सन्दर्भमा बिष्टको यो अपिललाई जिम्मेवार र संवेदनशील अभिव्यक्तिका रूपमा हेरिएको छ। उनले चुनौतीपूर्ण घडीमा सबै नेपाली एकजुट भएर धैर्य र समझदारीका साथ परिस्थितिको सामना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।