कञ्चनपुरमा जातीय विभेदविरुद्ध सशक्त सन्देश : आचार्य गणेश प्रसाद पन्तलाई भव्य स्वागत, विकासवादी वडा अध्यक्ष अर्जुन साउदको पहल
कञ्चनपुर — हिन्दुधर्ममा देखिँदै आएको जातीय विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आउनुभएका अभियन्ता आचार्य पण्डित गणेश प्रसाद पन्तज्यूलाई कृष्णपुर नगरपालिका वडा नं. २ को कार्यालय बाणीमा हार्दिक स्वागत गरिएको छ। सामाजिक रूपान्तरण र समावेशीताको सन्देश बोकेर देशभर अभियान सञ्चालन गरिरहनुभएका पन्तको उपस्थितिले स्थानीय स्तरमै सकारात्मक ऊर्जा थपिएको अनुभूति गरिएको छ।
कार्यक्रमका प्रमुख आयोजक तथा कृष्णपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अर्जुन साउदले समाजमा व्याप्त विभेद अन्त्यका लागि यस्ता सचेतनामूलक अभियान आवश्यक रहेको उल्लेख गर्दै, समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो। नेपाल कम्युनिस्ट पार्टीका सक्रिय नेता समेत रहनुभएका साउद विकासवादी सोच र कार्यशैलीका कारण स्थानीय जनतामाझ लोकप्रिय बन्दै गइरहनुभएको छ।
उहाँको नेतृत्वमा वडामा भौतिक पूर्वाधार विकासदेखि सामाजिक न्यायसम्मका क्षेत्रमा उल्लेखनीय प्रगति भएको स्थानीयवासीहरू बताउँछन्। शिक्षा, स्वास्थ्य, सडक तथा सामाजिक सचेतना अभियानमा उहाँको सक्रियता उदाहरणीय मानिएको छ।
आचार्य पन्तले आफ्नो मन्तव्यमा धर्मको नाममा हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य रहेको स्पष्ट पार्दै, मानवता नै सबैभन्दा ठूलो धर्म भएको सन्देश दिनुभयो। उहाँले स्थानीय तहबाट सुरु हुने यस्ता सकारात्मक पहलले देशभर परिवर्तनको लहर ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उक्त कार्यक्रमले कृष्णपुर नगरपालिकामा सामाजिक एकता, सद्भाव र समावेशीताको नयाँ सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।