काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले नेपाली राजनीतिको पछिल्लो अवस्थामाथि गम्भीर प्रश्न उठाउँदै पुराना दल र नयाँ दलभित्र देखिएको चरित्रगत निरन्तरताप्रति कडा टिप्पणी गरेका छन्।
ढकालका अनुसार केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै समय देश र जनताका लागि लडेका, संघर्ष गरेका नेता हुन्। तर समयक्रममा उनीहरू स्वयं बिग्रिएको मात्र होइन, पञ्चायतकालमै मौलाएका भ्रष्ट र दलाल तत्वको प्रवेशले कांग्रेस, एमाले र माओवादीजस्ता दलहरू नै भ्रष्टीकरणको सिकार बनेको उनको विश्लेषण छ।
उनले भनेका छन्,
“पञ्चायत कालमा मौलाएका भ्रष्ट र दलालहरू बहुदल स्थापनापछि कांग्रेस–एमालेमा छिरे। २०६३ पछि तिनै पात्र माओवादीमा छिरे र माओवादीलाई पनि भ्रष्टीकरण गरे।”
ढकालको आरोप यतिमै सीमित छैन। उनका अनुसार जसले कांग्रेस, एमाले र माओवादीलाई बिगारे, ती नै पात्रहरू अहिले फेरि नयाँ दल रास्वपामा प्रवेश गरेर पुराना दललाई गाली गरिरहेका छन्।
“यी पात्रहरू नै आज उफ्रिँदै भन्छन्— ‘पुराना दलले देश बिगारे, बनाउन सक्दैनन्’,” ढकालको टिप्पणी छ।
‘रामराज्य’को भ्रम र दोहोरिँदो इतिहास
ढकालले आफ्नो स्टाटसमा वरिष्ठ पत्रकार विजय कुमारका शब्द सापटी लिँदै नेपाली जनताको सामूहिक अनुभूति उजागर गरेका छन्। विजय कुमारको ‘म’ मा नेपाली जनता अनुभूत हुने गरी उद्धृत भनाइ यस्तो छ—
“पञ्चायत छँदा लाग्थ्यो, यो गएपछि रामराज्य आउँछ। पञ्चायत गयो, रामराज्य आएन। त्यसपछि लाग्न थाल्यो— राजा गएपछि रामराज्य आउँछ। राजा गए, रामराज्य आएन।”
ढकालका अनुसार नेपाली जनताले पटक–पटक आफ्ना विश्वास परिवर्तन गरे, तर परिणाम उस्तै रह्यो।
“एउटै मान्छे जनतालाई कहिले रामजस्तो, कहिले रावणजस्तो र कहिले नारदजस्तो लाग्यो,” भन्ने विजय कुमारको भनाइ आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको ठहर छ।
व्यवस्था होइन, प्रवृत्ति मुख्य समस्या
डा. ढकालको स्टाटसले संकेत गर्छ— नेपालको समस्या केवल दल वा व्यवस्था होइन, नेतृत्व र प्रवृत्तिको निरन्तरता हो। पुराना दलबाट विस्थापित भनिएका पात्रहरू नयाँ दलमा उही शैली, उही सोच र उही स्वार्थ बोकेर प्रवेश गर्दा परिवर्तनको सपना पनि शंकाको घेरामा परेको उनको निष्कर्ष छ।
राजनीतिमा अनुहार फेरिए पनि चरित्र नफेरिएसम्म ‘रामराज्य’को सपना केवल नारा र भ्रममै सीमित हुने चेतावनी ढकालको टिप्पणीले दिन खोजेको स्पष्ट देखिन्छ।