सगरमाथाको उचाइबाट प्रेरित नयाँ ब्रान्ड ‘.८६’ सार्वजनिक

theoutsidenepal.com

सगरमाथाको उचाइबाट प्रेरित नयाँ ब्रान्ड ‘.८६’ सार्वजनिक

काठमाडौं। ग्वालेख ग्रुपअन्तर्गत सञ्चालित अमृत डिस्टिलरीले नेपाली मौलिकता, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रियस्तरको गुणस्तरलाई समेट्दै नयाँ ब्रान्ड ‘.८६’ बजारमा सार्वजनिक गरेको छ।

ग्वालेख ग्रुपका अध्यक्ष पीताम्बर जोशीका अनुसार ब्रान्डको नामकरण नेपाल सरकारद्वारा अद्यावधिक गरिएको सगरमाथाको उचाइ ८,८४८.८६ मिटर बाट प्रेरित भएर गरिएको हो। उहाँले नेपालको सर्वोच्च शिखर सगरमाथाको गौरव र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादनमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘.८६’ ब्रान्ड ल्याइएको बताउनुभयो।

अध्यक्ष जोशीका अनुसार ‘.८६’ केवल एउटा उत्पादनको नाम मात्र नभई नेपाली मौलिकता, आत्मगौरव र गुणस्तरीय उत्पादनप्रतिको प्रतिबद्धताको प्रतीक हो।

कम्पनीका अनुसार उत्पादनमा प्रयोग गरिएका आवश्यक कच्चा पदार्थ तथा प्रविधिसम्बन्धी सामग्री स्विडेनबाट आयात गरिएको छ। साथै, आकर्षक र आधुनिक बोतल विशेष रूपमा चीनमा डिजाइन तथा निर्माण गरी नेपाल ल्याइएको जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, आधुनिक प्याकेजिङ र नेपाली पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको ‘.८६’ ब्रान्डले स्वदेशी बजारसँगै भविष्यमा अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो छुट्टै पहिचान स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

अमृत डिस्टिलरीले गुणस्तर, आधुनिक प्रविधि र नेपालीपनको समिश्रणमार्फत उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने लक्ष्यका साथ ‘.८६’ ब्रान्ड सार्वजनिक गरेको जनाएको छ।


प्रतिक्रिया