एनआरएनए १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन: निर्वाचन कार्यतालिका (फागुन–चैत २०८३)

theoutsidenepal.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि हुने १२औँ बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुने जनाइएको छ।


एनआरएनएद्वारा जारी विज्ञप्तिअनुसार दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनमार्फत ७४ पदमा निर्वाचन हुनेछ। उम्मेदवारी दर्ता फागुन २२ गतेसम्म भौतिक उपस्थित वा अनलाइन माध्यमबाट गर्नुपर्ने व्यवस्था गरिएको छ।


गैरआवासीय नेपाली संघको सचिवालयमा स्वयं उपस्थित भएर वा इमेलमार्फत उम्मेदवारी दर्ता गर्नेले प्रस्तावक र समर्थकसहित अनिवार्य उपस्थित भई सनाखत गर्नुपर्ने उल्लेख गरिएको छ।


फागुन २६ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने २७ गतेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ। सोही दिन मनोनयनपत्र जाँचबुझ तथा उजुरीमाथि निर्णय गरी दोस्रो नामावली सार्वजनिक गरिनेछ।


फागुन २८ गते उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ। अन्तिम नामावली अनलाइन मतदान सञ्चालन गर्ने कम्पनीलाई उपलब्ध गराइने जनाइएको छ। फागुन २९ गते अनलाइन मतदानको नमुना (मक) निर्वाचन सञ्चालन गरिनेछ।


नेपाल बाहिर रहेका मतदाताका लागि फागुन ३० गतेदेखि चैत १ गतेसम्म अनलाइन मतदान खुला रहनेछ। नेपालभित्र भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदानका लागि चैत १ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म Hotel The Soaltee मा मतदानको व्यवस्था गरिएको छ।


प्रतिक्रिया