भारतमा रहेका नेपाली श्रमिकको तथ्याङ्क संकलन गर्न सांसद दीपक बोहराको जोडदार माग

theoutsidenepal.com

भारतमा रहेका नेपाली श्रमिकको तथ्याङ्क संकलन गर्न सांसद दीपक बोहराको जोडदार माग

कञ्चनपुर क्षेत्र नं. २ का सांसद दीपक बोहोरा ले भारतमा कार्यरत लाखौँ नेपाली श्रमिकको अवस्था गम्भीर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले संसदमार्फत भारतमा रहेका नेपाली श्रमिकको वास्तविक तथ्याङ्क तत्काल संकलन गर्न माग गर्दै उनीहरूको श्रम, सुरक्षा र सामाजिक अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

सांसद बोहराले भारतमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले रगत–पसिना बगाएर काम गरिरहेको भए पनि नेपाल सरकारसँग उनीहरूको यथार्थ विवरण नभएको उल्लेख गरे। भारत सरकारसँग समेत भरपर्दो तथ्याङ्क नरहेको अवस्थामा अनुमानका आधारमा तयार गरिएका विवरणहरू वास्तविकताभन्दा फरक हुन सक्ने उनको भनाइ थियो।

उनले डिजिटल रेकर्डको अभावमा भारतमा रहेका नेपाली श्रमिकहरूलाई राष्ट्रिय श्रम आप्रवासन नीतिमा समेट्न कठिन भइरहेको बताए। साथै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नसकिएको, दुर्घटना वा आपत्कालीन अवस्थामा बीमा, क्षतिपूर्ति, उद्धार तथा राहत उपलब्ध गराउन समस्या भइरहेको विषय पनि उठाएका छन्।

सांसद बोहराले श्रमवीर नेपालीहरूको पसिनाको सम्मान र सुरक्षाका लागि व्यवस्थित संयन्त्र निर्माण गर्न सरकारसँग आग्रह गर्दै भारतमा रहेका नेपालीको आधिकारिक तथ्याङ्क राख्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया