‘चेक बाउन्स’ प्रकरणमा सांसद आशिका तामाङको स्पष्टीकरण: “पीडित म हुँ, पिडक होइन”
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आशिका तामाङले आफूलाई जोडेर केही दिनयता विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा प्रकाशित तथा प्रसारित “चेक बाउन्स” सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै औपचारिक स्पष्टीकरण दिएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा सांसद तामाङले आफूले कसैलाई दिनुपर्ने रकमको चेक बाउन्स नभई, आफूले प्राप्त गर्नुपर्ने रकमको चेक अनादर (बाउन्स) भएको स्पष्ट पारेकी छन्। उनले उक्त विषयमा आफू नै पीडित पक्ष रहेको र सम्बन्धित व्यक्तिले रकम भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार चेक अनादर सम्बन्धी कारबाही अघि बढाएको उल्लेख गरेकी छन्।
तामाङका अनुसार यस विषयमा उनले सन् २०२४ मै सामाजिक सञ्जाल तथा विभिन्न अन्तर्वार्तामार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेकी थिइन्। उनले अहिले पुनः फैलाइएका समाचारले भ्रम सिर्जना गरेको भन्दै नागरिकलाई वास्तविक तथ्य बुझ्न आग्रह गरेकी छन्।
उनले बैंकिङ कानुनअनुसार चेक अनादर सम्बन्धी मुद्दामा बैंकमा ४५ दिनको प्रतीक्षा अवधि पूरा भएपछि मात्र कानुनी प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने व्यवस्था रहेको जानकारी दिएकी छन्।
सांसद तामाङले सम्बन्धित पक्षले आफूले तिर्नुपर्ने रकमबाट बच्न विभिन्न माध्यमबाट ‘मिडिया ट्रायल’ गर्ने, मानवअधिकार आयोगसम्म पुगेर आफ्ना दाबी प्रस्तुत गर्ने जस्ता गतिविधि गरेको आरोप लगाउँदै ती दाबीहरू सत्यतामा आधारित नरहेको दाबी गरेकी छन्।
अन्त्यमा उनले आफू र आफ्नो सचिवालयविरुद्ध फैलाइएका भ्रमपूर्ण समाचार तथा प्रचारप्रति विश्वास नगरी वास्तविक तथ्यका आधारमा धारणा बनाउन सम्पूर्ण नागरिकसँग अनुरोध गरेकी छन्।