त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेराभित्र ट्याक्सी चालकमाथि सामूहिक आक्रमण, प्रहरीको भूमिकामाथि प्रश्न

theoutsidenepal.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेराभित्र ट्याक्सी चालकमाथि सामूहिक आक्रमण, प्रहरीको भूमिकामाथि प्रश्न

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा घेराभित्रै एक ट्याक्सी चालकमाथि सामूहिक कुटपिट भएको घटनाले विमानस्थलको सुरक्षा व्यवस्था तथा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

रामेछाप घर भई हाल काठमाडौंमा ट्याक्सी सञ्चालन गर्दै आएका तह खपाङ्गी माथि जेठ २३ गते राति करिब १२ बजे निर्घात कुटपिट भएको पीडित पक्षले जनाएको छ। घटनामा हरियो नम्बर प्लेट भएका ट्याक्सी व्यवस्थापनसँग सम्बन्धित सुपरभाइजर कृष्णकुमार रोक्का तथा अन्य केही चालकहरूको संलग्नता रहेको आरोप लगाइएको छ।


पीडित खपाङ्गीका अनुसार उनी यात्रु पुर्‍याएर विमानस्थलबाट फर्किने क्रममा एक यात्रुले संकेत गरेपछि ट्याक्सी रोकेर सामान्य कुराकानी गरिरहेका थिए। सोही बेला सुपरभाइजर रोक्कासहित केही व्यक्तिहरू त्यहाँ आएर अचानक आफूलाई आक्रमण गरेको उनले बताएका छन्।


कुटपिटबाट खपाङ्गीको टाउको र आँखामा गम्भीर चोट लागेको छ। हाल उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको पारिवारिक स्रोतले जनाएको छ।

घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील र उच्च सुरक्षा क्षेत्रभित्र भएको भन्दै सरोकारवालाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्। विमानस्थल परिसरमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सुरक्षा निकायको निरन्तर निगरानी रहने भए पनि यस्तो घटना कसरी भयो भन्ने विषयमा चासो बढेको छ।


पीडित पक्षले दोषीमाथि कडा कारबाहीको माग गर्दै निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ। घटनापछि विमानस्थल क्षेत्रमा कार्यरत ट्याक्सी चालकहरूबीच पनि त्रास र असन्तुष्टि बढेको बताइएको छ।

यस घटनाबारे सम्बन्धित सुरक्षा निकाय र प्रहरी प्रशासनले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ। पीडित परिवारले भने दोषीलाई कानुनी दायरामा ल्याई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

“विमानस्थलजस्तो उच्च सुरक्षा क्षेत्रमा नै चालकमाथि सामूहिक आक्रमण हुनु गम्भीर विषय हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्छ,” स्थानीय व्यवसायी तथा यातायात क्षेत्रका सरोकारवालाले बताएका छन्।


प्रतिक्रिया