वरिष्ठ पत्रकार दिल निशानी मगरले वर्तमान राजनीतिक घटनाक्रमप्रति तीव्र प्रतिक्रिया जनाउँदै ऊर्जा क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएका कुलमान घिसिङमाथि भइरहेको आलोचना र खिस्सीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारमा, अदालत धाइरहेका र धरौटी बुझाउँदै हिँडिरहेका व्यक्तिहरूले कुलमान घिसिङलाई नैतिकताको पाठ सिकाउन नपर्ने स्पष्ट उल्लेख गरेका छन्।
मगरका अनुसार सांगठनिक अपराधमा मुछिएका व्यक्तिले पद त्यागेको विषयलाई नैतिकताको ठूलो उदाहरणका रूपमा प्रस्तुत गर्नु आफैंमा विरोधाभासपूर्ण छ। “प्रधानमन्त्रीको पद त्यागेँ भन्दै नाक फुलाउनु पर्ने अवस्था होइन, बरु आफ्नै राजनीतिक स्वार्थका कारण सोझा तामाङ समुदायका प्रतिनिधिको मन्त्री पद गुमेको विषयमा माफी मागिनु पर्थ्यो,” उनले टिप्पणी गरेका छन्।
उनले केही सेलिब्रेटी र राजनीतिक कार्यकर्ताहरूले कुलमान घिसिङलाई ‘कोही पनि होइन’ भन्दै गरेको टिप्पणीलाई गैरजिम्मेवार र अपमानजनक भनेका छन्। “कुलमान कोही पनि होइनन् भन्नेहरूलाई सम्झनु पर्छ—उनी नै हुन्, जसका कारण आज देशका घर–घरमा चौबिसै घण्टा बिजुली पुगेको छ,” मगरको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैको आन्तरिक अवस्थाप्रति पनि उनले प्रश्न उठाएका छन्। रवि लामिछानेसँग सहोदर दाइ हरिशरण लामिछाने समेत टिक्न नसकेको सन्दर्भ उल्लेख गर्दै उनले कुलमान घिसिङ कुनै दल वा चुनाव चिन्हसँग सती जानुपर्ने बाध्यता नरहेको बताएका छन्। “आफूले जन्माएको पार्टी र चिन्ह सबैलाई प्यारो हुन्छ, तर देशका लागि योगदान दिने अग्रजलाई दलगत आँखाले हेर्नु गलत हो,” उनले लेखेका छन्।
मगरले रास्वपाका केही कार्यकर्ताहरूले कुलमान घिसिङविरुद्ध चलाएको प्रचार युद्धलाई अशोभनीय भन्दै आलोचना गरेका छन्। उनका अनुसार, कुलमान घिसिङले ती कार्यकर्ताहरू राजनीतिक चेतनामा आउनुअघि नै देशका दर्जनौँ सफल जलविद्युत् आयोजनाको नक्सा कोरिसकेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति पनि उनले कडा टिप्पणी गरेका छन्। सुकुम्बासी र ठेला व्यवसायीको समस्या संवादमार्फत समाधान गर्न नसकेको आरोप लगाउँदै मगरले भनेका छन्, “कुलमान घिसिङको उचाइमा बालेन र रवि पुग्दैनन्। उनीहरूभन्दा कुलमानको योगदान देशका लागि धेरै ठूलो छ।”
अन्त्यमा, वरिष्ठ पत्रकार मगरले दल र सत्ता भन्दा माथि उठेर देशका लागि काम गर्ने व्यक्तित्वको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्। “पार्टीका लागि होइन, देशका लागि योगदान पुर्याएकाको कदर गर्न सिकौँ,” उनको निष्कर्ष छ।