काठमाडौँ — नेपाली कांग्रेसका युवा नेता लोकनाथ अधिकारीले मौन अवधि सुरु हुनु अघिको अन्तिम सन्देशमार्फत मतदातालाई भावनात्मक होइन, विवेकपूर्ण निर्णय गर्न आह्वान गरेका छन्। उनले आफू दलको कार्यकर्ता भन्दा पनि “जिम्मेवार नेपाली नागरिक”का रूपमा विचार राख्दै देशको वर्तमान परिस्थितिमा स्थिरता र स्पष्ट नीतिसहितको नेतृत्व आवश्यक रहेको बताएका छन्।
अधिकारीले देश आर्थिक दबाब, रोजगारीको अभाव, युवाको विदेश पलायन र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा आवेग, आरोप–प्रत्यारोप र चर्का नाराभन्दा दीर्घकालीन सोच आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। “देशलाई स्थिरता, स्पष्ट नीति र अनुभवसहितको नेतृत्व चाहिएको छ,” उनले भनेका छन्।
विभिन्न दलका घोषणापत्र अध्ययन गरेको उल्लेख गर्दै उनले वितरणमुखी प्रतिबद्धताभन्दा उत्पादन, उद्योग, रोजगारी र अर्थतन्त्र सुदृढ गर्ने स्पष्ट मार्गचित्र अहिलेको प्राथमिकता हुनुपर्ने बताए। “पहिले कमाउने, त्यसपछि न्यायपूर्ण वितरण गर्ने सोच व्यवहारिक छ,” भन्ने उनको तर्क छ।
यही सन्दर्भमा उनले नेपाली कांग्रेसको दृष्टिकोण सन्तुलित र यथार्थपरक देखिएको बताएका छन्। विगतका कमजोरी स्वीकार गर्दै सुधारको प्रतिबद्धता, उत्पादनमुखी अर्थतन्त्र, शिक्षा–स्वास्थ्यमा संरचनात्मक सुधार तथा सन्तुलित परराष्ट्र नीतिको अनुभव अहिलेको आवश्यकता अनुसार रहेको उनको भनाइ छ।
नेतृत्वको प्रसंग उठाउँदै अधिकारीले देशलाई “जोशसँगै होस, ऊर्जासँगै परिपक्वता” आवश्यक भएको बताएका छन्। त्यस सन्दर्भमा उनले गगन कुमार थापालाई कम्तीमा एक स्थिर अवसर दिनुपर्ने विश्वास व्यक्त गरेका छन्। पाँच वर्ष अवरोधबिना काम गर्ने मौका पाएपछि मात्र निष्पक्ष मूल्यांकन सम्भव हुने उनको धारणा छ।
अन्त्यमा उनले निर्णय मतदाताकै हातमा रहेको स्मरण गराउँदै “नारा होइन, नीति हेरौं; क्षणिक आकर्षणभन्दा दीर्घकालीन स्थिरता रोजौं” भन्ने सन्देश दिएका छन्। “मुलुकलाई प्रयोगशाला नबनाऔं, जिम्मेवार नागरिक बनौं,” भन्दै उनले स्थिर बहुमतसहित काम गर्ने अवसर दिन अपिल गरेका छन्।