पत्रकार दिनेश सिटौलाको निधन, सञ्चार जगत शोकमा
काठमाडौँ । वरिष्ठ पत्रकार दिनेश सिटौलाको निधन भएको छ । सुदूरपश्चिमको अछाम जिल्लामा रहेका बेला अचानक बेहोस भएर ढलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।
अछाममा अस्वस्थ भएपछि शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएपछि धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको अवस्थामा सिटौलाको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
सिटौला लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी पत्रकार हुन्। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका थिए। पत्रकारितामार्फत चलचित्र तथा कला क्षेत्रको विकासमा उनले पुर्याएको योगदानलाई सहकर्मी र शुभेच्छुकहरूले स्मरण गरेका छन्।
उनको निधनको खबरपछि पत्रकारिता तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ। विभिन्न सञ्चारकर्मी, कलाकार र सामाजिक व्यक्तित्वहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
स्व. सिटौलाको अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रमबारे परिवार स्रोतबाट थप जानकारी आउने बताइएको छ।
01 February 2026